पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत ६ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको बिहीबार सम्पन्न २०औँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक प्रस्ताव र निर्देशिका पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेटको सीमा नबढ्ने गरी ‘वडागत तथा पालिकास्तरीय आयोजना र कार्यक्रम संशोधन कार्यविधि निर्देशिका’ सर्वसम्मत रूपमा पारित गरेको हो।
सभामा बोल्दै गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले विकास निर्माणमा जनअपेक्षालाई प्राथमिकता दिने बताउनुभयो। उहाँले भन्नुभयो, “जनताको चाहनाअनुसार विकास निर्माण गर्नु नै जनप्रतिनिधिको मुख्य कर्तव्य हो। हामीले बाटो, खानेपानी, विद्युत् र सिँचाइजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएका छौँ। निर्देशिका पारित भएपछि योजनाहरू अझ व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहज हुनेछ।”
सभाले चालू आर्थिक वर्षको हालसम्मको आय–व्यय र कार्यपालिकाका निर्णयहरूलाई पनि अनुमोदन गरेको छ। साथै आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनसम्बन्धी विषयमा पनि छलफल गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत अनिता थारू बि.क.ले संशोधन कार्यविधि निर्देशिकाले बजेट अनुशासन कायम गर्दै योजनाहरू समयमै सम्पन्न गर्न कानुनी आधार तयार गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “यसले पालिकाको आर्थिक पारदर्शिता र सुशासनलाई थप मजबुत बनाउनेछ। लेखा समिति गठनसँगै प्रशासनिक कामकारबाही अझ उत्तरदायी बन्ने विश्वास लिएका छौँ।”
सभामा गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले न्यायिक समितिबाट सम्पन्न गतिविधिहरू अनुमोदनका लागि पेस गर्नुभएको थियो। उहाँले स्थानीय विवाद समाधान र न्याय सम्पादनमा भएका प्रगतिबारे जानकारी गराउनुभयो। सभाले पालिकामा लेखा समिति गठन गर्ने निर्णय समेत गरेको छ।