• ४ चैत २०८२, बुधबार

पोखराको अर्मलामाट ‘जिरो डिग्री’ को एक्सनकट

blog

सन्तोष सुवेदी
कास्की, चैत ४ गते ।
पोखराको पर्यटकीय गाउँ अर्मलाबाट नेपाली फिल्म ‘जिरो डिग्री’ को छायांकन सुरु गरिएको छ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सम्पूर्ण छायांकन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुने फिल्मका कार्यकारी निर्माता मोती कार्कीले जानकारी दिनुभयो ।

‘‘फिल्मको सम्पूर्ण छायांकन पोखरा र कास्कीका रमणीय ठाउँमा गरिनेछ । अर्मलामा ३० प्रतिशत छायांकन गरिनेछ भने बाँकी धिताल गाउँमा रहनेछ । फिल्मको ३५ दिनमा सम्पूर्ण छायांकन सकिने लक्ष्य लिएको छ,’’ उहाँले भन्नुभयो ।

फिल्मले एक विकट गाउँको कथा बोकेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार एक विकट गाउँमा आमा बुबाको निधन पछि विदेश भएका सन्तान नफर्कनजेल सम्म शवलाई सुरक्षित राख्न ‘फ्रिज’ राख्नुभएको कथालाई रोचक र रमाइलो तरिकाले प्रस्तुत गर्न खोजिएको छ । ‘‘बुढापाका मात्र भएको गाउँ, युवाहरु सबै विदेश हुँदा गाउँमा आइपर्ने समस्यालाई देखाउन खोजिएको छ,’’ उहाँले भन्नुभयो । फिल्म साढे दुई करोडमा सक्ने आँकलन गरिएको कार्यकारी निर्माता कार्कीले बताउनुभयो ।

आकास बराल र साजन काफ्लेको संयुक्त निर्देशन तथा पटकथा रहेको फिल्ममा रङ्गमञ्चबाट उदाएका अभिनेता विजय बराल र सनिशा भट्टराईको साथमा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल र रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

फिल्मको कास्टिङ सन्जोग रसाइलीले गर्नुभएको हो । फिल्ममा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन र राजेन्द्र मोक्तानको रंग संयोजन रहनेछ । अंकित बाबु अधिकारीको संगीत र युवराज काफ्लेको शब्द रचना रहेको छ ।