हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत ४ गते । अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा जानुभएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसायमा फर्किनुभएको छ ।
नेपाल–चीन जोड्ने कोरला नाकामा अत्यधिक चिसोका कारण बेंसी झरेर चिनियाँ र स्थानीय सामान बिक्री गर्नुभएका गुरूङसँगै २४ नम्बरको कोरला नाकानजिक दसगजा क्षेत्रमा रहेको स्थानीयबासीको अस्थायी टेन्ट तथा सिमापारी समेत नियमित ब्यापारका लागि जाने गरेका छन् ।
विहान–बेलुकी तापक्रम ऋणात्मक हुँदा अधिकांश पसल बन्द गरी जाडो छल्न बेँसी झरेपछि सुनसान भएकोमा फागुनको अन्तिम सातादेखि नियमित ब्यवसायमा फर्किनको संख्या बढ्न थालेको युवा ब्यवसायी गुरूङको भनाइ छ । युवा ब्यवसायी गुरूङ भन्नुहुन्छ, ‘‘अब पर्यटकको पनि आगमन हुन्छ, चिनियाँ सामान पनि धमाधम आउँछ, सबैले पसल खोल्न थालेका छन् ।’’
करिब ५४ वटा पसल रहेकोमा चैत महिनाको १ गते ६३ जना, २ गते ५१ जना र ३ गते ५४ जना स्थानीय सिमापारी चिनियाँ बजारमा ब्यवसाय गर्न गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सञ्चार शाखाका बरिष्ठ हबल्दार अनुप रानाले जानकारी दिनुभयो ।
कोरला नाका क्षेत्रमा करिब एकसय ५४ जना स्थानीयले ब्यवसाय गर्ने गरेकोमा अहिले विद्युतीय सवारीसाधन ल्याउने, सामान ढुवानी गर्नेहरूलाई चिया, नास्ता र खाना खुवाउने पसल छन् । चिनियाँ विद्युतीय सवारी साधनसहित सामान आयात भइरहेको अवस्थामा मुस्ताङको नागरिकता भएका चालकहरू सिमापारी गएर विद्युतीय सवारीसाधन र सामान करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म ल्याउने भएकाले अहिले एकसयभन्दा बढी मुस्ताङी कोरला नाकामा रहेको छोसेरकी फुर्ब साङ्मु गुरूङको भनाइ छ ।
समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकामा स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामान बिक्री गरिरहेका छन् । चालु आर्थिक बर्ष २०८२–८३ सालको भदौ महिना ३० गतेदेखि ब्यावसायिक रूपमा नाका सञ्चालनमा आएसँगै नाकामा तापक्रम ऋणात्मक बाहेकको समयमा फाटफुट स्थानीयको उपस्थिति रहेको थियो ।
चिनियाँ बजारमा विहान ९ बजे प्रवेशगरी दिउँसो २ बजेसम्म ब्यापार गरी आवश्यक सामान लिएर फर्कने गरिन्छ । कोरला नाकास्थित दसगजा क्षेत्रबाट करिब ३ सय मिटरको दूरीमा नेपालीलाई ब्यवसाय गर्न मिल्ने गरी स्टल बनाइएको छ । मुस्ताङ भन्सार कार्यालयको सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार तिब्वत क्षेत्रबाट नियमित विद्युतीय सवारीसाधन, विद्युतीय उपकरण, खाद्यान्न, लत्ताकपडा सहितका सामान आयात भइरहेको अवस्थामा ब्यवसाय लयमा फर्किन थालेको बताउनुभयो ।
कोरलास्थित २४ नम्बर, २७ नम्बर र पश्चिमतर्फ रहेको २३ नम्बर पिल्लर रहेकाले इलाका प्रहरी कार्यालय छोसेर, सशस्त्र प्रहरी बलको (बिओपी) ले चिनियाँ प्रहरीसँगको सहकार्यमा अबैध चोरी निकासी नियन्त्रणका लागि गस्ती गर्ने गरेको छ । मुस्ताङको चीनको स्वशासित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतको खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको नाका खुलेपछि स्थानीयलाई बरदान भएको छ ।