धीरेन्द्रप्रसाद साह
राजविराज, चैत ४ गते ।लगातार छ दिनदेखि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित श्रीजनता माध्यमिक विद्यालय, खुदीवखारी कुपहीमा तालाबन्दी कायमै छ ।
परीक्षाबाट बञ्चित विद्यार्थीले गत शुक्रबार गरेको तालाबन्दी बुधबार छैटौँ दिनसम्म जारी रहेको छ ।यता पालिकाले तालाबन्दी खुलाएर शैक्षिक वातावरणको सहज परिस्थिति बनाउने भन्दा पत्राचार गरेर आवश्यक कागजात माग गरिएको छ ।
जिल्लाको छिन्नमतस्ता गाउँपालिका-६ स्थित सो विद्यालयको प्राविधिकतर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले परीक्षा फारम तथा कक्षा सञ्चालनमा अनियमितता भएको गुनासो गरेपछि गाउँपालिकाले यस्तो पत्र पठाएर कागजात माग गरिएको हो ।
गाउँपालिकाका शिक्षा अधिकृत विरेन्द्र कुसियैतले पालिका अन्तर्गतका सो विद्यालयलाई सोमबार पत्राचार गर्दै आवश्यक विवरणसहित सम्पूर्ण कागजात दुई दिनभित्र उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।
पीडित विद्यार्थीले प्रथम सेमेस्टरपछि दोस्रो र तेस्रो सेमेस्टरमा कक्षा सञ्चालन नभएको, विद्यार्थीहरूको शैक्षिक भविष्य प्रभावित भएको, तथा परीक्षा फारम भर्न तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिएको आरोप पालिकालाई जानकारी गराइएको थियो।
विद्यार्थीका अनुसार सिटिइभिटीले प्रति विद्यार्थी पाँच सय रुपियाँ तोकेको परीक्षा फारम शुल्क विद्यालयले २५ सय रुपियाँ नतिरेसम्म फारम भर्न नदिएको, शुल्कको रसिदसमेत नदिएको र प्रवेशपत्र माग्दा उपलब्ध नगराइएको गुनासो गरिएको छ ।
यसै कारण आफू परीक्षा दिनबाट वञ्चित भएको तेस्रो सेमेस्टरका नियमित विद्यार्थी अंशुकुमार मण्डलले बताउनु भएको छ ।
यही आरोप लगाउँदै मण्डलको अगुवाइमा फागुन २९ गते शुक्रबार विद्यालयको कार्यालय कक्षमा तालाबन्दी गरिएको थियो । गाउँपालिकाले विद्यालयसँग कक्षा सञ्चालन अनुमति पत्र, शिक्षक नियुक्ति पत्र, शिक्षक हाजिरी, सम्झौता पत्र, विद्यार्थीबाट लिइएको शुल्क विवरणलगायत सबै आवश्यक कागजात माग गरेको पत्रमा उल्लेख गरिएको छ ।
यसैबिच, गाउँपालिकाबाट पत्र प्राप्त भएपछि प्रधानाध्यापक लालबहादुर मण्डलले सोमबार नै प्राविधिक कोअर्डिनेटर इन्जिनियर दिनेश साहलाई पत्राचार गर्दै दुई दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिनुभएको छ ।
यता विद्यालयका प्रधानाध्यापक लालबहादुर मण्डलले विद्यार्थी अंशुकुमार मण्डलले लगाएका आरोप असत्य भएको बताउनुभएको छ । उहाँका अनुसार अंशुकुमार नियमित विद्यालय नआउने विद्यार्थी हुन् र पटकपटक आग्रह गर्दा पनि परीक्षा फारम नभरेका कारण परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
प्रअ मण्डलले विद्यालयले सिटिइभिटीले तोकेको शुल्कभन्दा बढी रकम नलिएको स्पष्ट पार्नुभयो ।साथै, फारम भर्ने समयमा अंशुकुमार भारतमा रहेको र सम्पर्क गर्दा पनि नआएको उहाँले थप स्पष्ट पार्नुभयो ।