• ९ मंसिर २०८१, आइतबार

सुदूरपश्चिममा एमाले एक्लै चुनावी मैदानमा

blog

धनगढी, असोज ३० गते । सुदूरपश्चिममा सत्तारुढ गठबन्धनविरुद्ध विभिन्न पार्टीसँग तालमेल गर्ने प्रयत्न गरेको नेकपा (एमाले) अन्ततः झण्डै एक्लै चुनावमा होमिएको छ । एमालेले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस (बीपी) र राप्रपासित चुनावी तालमेल गर्ने प्रयास गरे पनि सफलता नभएपछि एक्लै भएको हो ।

डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध भण्डै भइसकेको तालमेल बिग्रेको छ । त्यसअघि रेशम चौधरीको नागरिक उन्मुक्तिसँग तालमेलको प्रयास भए पनि सो पार्टीले धेरै सिट मागेपछि एमालेले तालमेलको प्रयास छाडेको थियो ।  

राप्रपासित पनि तालमेल गर्ने प्रयास गरेको एमालेले बढी क्षेत्र माग गरेपछि पूर्णरुपमा तालमेल हुन नसकेको सो दलले जनाएको छ । यद्यपि कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा एमालेले राप्रपालाई र राप्रपाले क्षेत्र नम्बर ३ को प्रतिनिधि र प्रदेश ‘ख’ मा एमालेलाई सहयोग गर्ने सहमति भएको एमालेले जनाएको छ । 

यस्तै, कैलाली क्षेत्र नम्बर १ को ‘क’ मा जनता समाजवादी पार्टीलाई एमालेले सघाउने भएको छ । त्यसको बदलामा जसपाले क्षेत्र नम्बर १ ‘ख’ मा सहयोग गर्ने सहमति भएको छ । एमालेको स्थानीय नेतृत्वले प्रदेशको ‘क’ मा राप्रपासँग सहमति गर्न खोजेको थियो । सो क्षेत्रमा जसपाको तुलनामा राप्रपा बलियो देखिएको छ । 

अघिल्लो चुनावमा नेकपा (माओवादी केन्द्र) सँग तालमेल हुँदा प्रतिनिधि सभाका १६ मध्ये १३ क्षेत्र र प्रदेशका ३२ मा २० क्षेत्रमा उम्मेदवारी दिएको एमालेले यस पटक प्रतिनिधि सभाका १५ वटा र प्रदेशका ३० क्षेत्रमा उम्मेदवार उठाएको छ । डडेल्धुरामा भने प्रतिनिधि सभातर्फ एमालेको उम्मेदवारी खाली भएको छ । 

कांग्रेस बीपीसँग सहमति भएपछि प्रतिनिधि सभाका उम्मेदवार चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिनुभएको थियो । तर बीपीसँग सहमति टुटेपछि एमाले उम्मेदवारविहीन बनेको छ । यद्यपि त्यहाँ एमालेकै विक्रम शाही स्वतन्त्रबाट उम्मेदवार हुनुहुन्छ ।

वाम गठबन्धनका कारण २०७४ मा एमालेले प्रतिनिधि सभामा १६ मध्ये १२ र प्रदेशका ३२ मध्ये १७ क्षेत्रमा विजय हासिल गरेको थियो । यस पटक एमालेले बाजुरामा कर्णबहादुर थापा,  दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, बझाङमा ऐन महर, डोटीमा गौरीकुमारी ओलीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।

यसैगरी, अछाम क्षेत्र नम्बर १ मा झपटबहादुर बोहरा, क्षेत्र नम्बर २ मा यज्ञ बोगटी, कञ्चनपुर क्षेत्र नम्बर १ मा तारा लामा तामाङ, क्षेत्र नम्बर २ मा नरबहादुर धामी, क्षेत्र नम्बर ३ मा निरुदेवी पाल, कैलाली क्षेत्र नम्बर १ मा तपेन्द्रबहादुर रावल, क्षेत्र नम्बर २ झपटबहादुर रावल, क्षेत्र नम्बर ३ मा गौरीशंकर चौधरी, क्षेत्र नं. ४ मा लेखराज भट्ट र क्षेत्र नम्बर ५ मा नारदमुनी राना प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको छ । 

एमालेले उम्मेदवार बनाएकामध्ये बझाङका महर र क्षेत्र नम्बर १ का रावल पहिलो पटक संसदीय चुनावमा उत्रिनु भएको छ । यद्यपि रावल ०७४ मा टीकापुर नगरपालिकाका प्रमुखमा निर्वाचित हुनु भएको थियो ।

प्रदेश सभाका प्रत्यक्षतर्फका ३२ मध्ये एमालेले कैलाली क्षेत्र नम्बर १ ‘ख’ द्वारिकाप्रसाद न्यौपाने, कैलाली २ ‘क’ मा कमलाकुमारी ओली, ‘ख’ मा डेजी पाण्डे, कैलाली क्षेत्र नम्बर ३ ‘क’ मा राजबहादुर बुढा, ‘ख’  मा जयनारायण जोशी, कैलाली क्षेत्र नम्बर ४ ‘क’ मा भीमबहादुर देउवा, ‘ख’ मा हरिसिंह साउद, कैलाली क्षेत्र नम्बर ५ ‘क’ मा नेपालु चौधरी र ‘ख’ मा दुर्गा जोशीलाई उम्मेदवार बनाएको छ । 

सोहीअनुसार कञ्चनपुर क्षेत्र नम्बर १ ‘क’ बाट  वीरबहादुर थापा, ‘ख’ बाट पल्लभराज भट्ट, कञ्चनपुर क्षेत्र नम्बर २  ‘क’ बाट वचनबहादुर सिंह, ‘ख’ बाट कृपाराम राना, कञ्चनपुर क्षेत्र नम्बर ३  ‘ख’ बाट सुरेन्द्र विष्ट प्रदेश सभा सदस्यका उम्मेदवारी दिनुभएको छ । 

सोहीअनुसार डडेल्धुरा ‘क’ बाट पठानसिंह बोहरा, ‘ख’ बाट गजेन्द्रबहादुर शाही,  डोटी क्षेत्र नम्बर १ ‘क’ बाट चक्रबहादुर मल्ल, ‘ख’ बाट टेकबहादुर वम, बाजुरा ‘क’ बाट बलदेव रेग्मी, (ख) बाट लालबहादुर थापा, बझाङ ‘क’ बाट अफिलाल ओखेडा, ‘ख’ बाट एलबी रावल, अछाम क्षेत्र नम्बर १ ‘क’ बाट देवबहादुर कुँवर, ‘ख’ बाट कृष्णप्रसाद जैंशी, अछाम क्षेत्र नम्बर २ ‘क’ बाट भीमबहादुर विष्ट, ‘ख’ बाट शिवप्रसाद उपाध्यायले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, बैतडी ‘क’  बाट सुरेन्द्रबहादुर पाल, ‘ख’ बाट लिलाधर भट्ट, दार्चुला ‘क’ बाट हरदेव जोशी, ‘ख’ बाट रामदत्त जोशी उम्मेदवार बन्नुभएको छ । एमालेले कञ्चनपुर क्षेत्र नम्बर ३ को ‘क’ राप्रपाका धर्मराज जोशी र कैलाली क्षेत्र नम्बर १ को ‘क’ मा जसपाका भगतराम चौधरीलाई समर्थन गरेको छ ।