• ३ असार २०८१, सोमबार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : उम्मेदवारले पाए निर्वाचन चिह्न

blog

काठमाडौँ, असोज २७ गते । आगामी निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई हजार ४१२ उम्मेदवार कायम भएका छन्। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा उम्मेदवारी फिर्ता लिएका र रद्द भएका ११९ जनाको नाम उम्मेदवारको सूचीबाट हटाएको छ। 

आयोगका अनुसार प्रतिनिधि सभातर्फ १६५ प्रतिनिधि सभा सदस्यका लागि दुई हजार १८७ पुरुष र २२५ महिला उम्मेदवार कायम भएका छन्। निर्वाचन कार्यक्रमबमोजिम असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १६५ वटै प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने क्रम अबेरसम्म जारी रहेको जानकारी दिनुभयो। आयोगका अनुसार प्रदेश सभातर्फ २५७ जना उम्मेदवारको नाम सूचीबाट हटाइएको छ। उम्मेदवारी फिर्ता लिएका र रद्द भएका उम्मेदवारको नामावली सूचीबाट हटाएर प्रदेश सभातर्फ सातवटै प्रदेशमा तीन हजार २२४ उम्मेदवार कायम भएको प्रवक्ता पौडेलले बताउनुभयो। प्रदेश सभातर्फ दुई हजार ९४३ पुरुष र २८० महिला तथा एक अन्य लिङ्ग समूहका उम्मेदवार छन्। 

उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख) तर्फ एक जना मात्रै उम्मेदवार कायम भएका छन्। प्रदेश निर्वाचन क्षेत्र नं. १ (ख) बाट राजीव गुरुङ (दीपक मनाङे) को एकल उम्मेदवारी कायम भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ। उक्त क्षेत्रमा मतदान नहुने भएको छ। मनाङकै प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) तर्फ भने तीन जना उम्मेदवार छन्। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइको तयारी सुरु गरेको छ। आयोगका प्रवक्ता पौडेलले यसै सातादेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने बताउनुभयो। समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। समानुपातिकतर्फ चार करोड दुई लाख मतपत्र छापिएका छन्।