• १३ साउन २०८१, आइतबार

टिकट खोसिएपछि मुख्यमन्त्री भट्ट असन्तुष्ट

blog

भवानी ऐर

गोदावरी (कैलाली), असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रले गरेको उम्मेदवार छनाेटप्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट असन्तुष्ट हुनुभएको छ ।

प्रदेशसभा सदस्यमा दोहाेरिने तयारीमा रहेका बेला उम्मेदवारी दर्ताको अघिल्लो रात उहाँको टिकट खोसिएपछि उहाँ असन्तुष्ट हुनुभएको हो ।

मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात)का अनुसार जिल्ला पार्टीले डोटीबाट प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवार सिफारिस गरे पनि गठबन्धन गर्दा प्रतिनिधिसभा सदस्यको सिट एकीकृत समाजवादीका भागमा परेपछि मुख्यमन्त्री भट्टलाई अध्यक्ष प्रचण्डलगायतको पार्टी पदाधिकारीले पुनः प्रदेशमा दोहाेरिन भनेको थियो ।

केही दिनअघि पार्टी केन्द्रीय नेतृत्वलाई भेट्न काठमाडौँ पुग्नुभएका मुख्यमन्त्री भट्ट सोही मुताविक कार्यक्षेत्रमा फर्केको र अहिले आएर प्रदेशसभा सदस्यको टिकट पनि अन्यलाई दिएकाले पार्टीको पोलिटब्युरो सदस्यसमेत रहनुभएका मुख्यमन्त्री असन्तुष्ट रहेको सचिव कुँवरले बताउनुभयो । 

उता, मुख्यन्त्री भट्टले पनि पार्टीको यो निर्णयले आफू स्तब्ध भएको र नेतृत्वसँगको छलफलपछि मात्र कसरी अगाडि बढ्ने भन्ने टुङ्गो लाग्ने प्रतिक्रिया दिनुभयो ।