• ४ जेठ २०८१, शुक्रबार

पदमार्गबाट फर्किन थाले पर्यटक

blog

चक्रीय अन्नपूर्ण पदमार्ग पुगेर फर्किएका पर्यटक । तस्बिर: बेलिना थापा

लमजुङ, असोज २३ गते । चक्रीय अन्नपूर्ण पदमार्ग पुगेका पर्यटक फर्किन थालेका छन् । वर्षा र हिमपातपछि उनीहरू फर्किन थालेका हुन् । वर्षा र हिमपात भइरहेको समयमा पदमार्ग जाँदा जोखिम बढ्न सक्ने भन्दै स्वेच्छाले र केही एक्यापको आग्रहमा फर्किएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार याकखर्क, मनाङ, पिसाङ, चामे लगायतका ठाउँमा रहेकाहरू फर्किएका छन् । केहीले एक्यापमा जानकारी गराएर फर्किएका छन् । केही जानकारी विना फर्किएका छन् । कार्यालयका लेखापाल उमाकान्त सापकोटाका अनुसार शुक्रवार २० जनाले जानकारी गराएर जिल्ला छाडेका छन् । शनिवार १५ जना फर्किएका छन् । जानकारी नगराएर धेरै जना फर्किएको हुन सक्ने उहाँले बताउनुभयो । ४÷५ जनाको समूह बनाएर फर्किएका छन् । याकखर्क पुगेका केही पर्यटक फर्किए पनि केही उतै रहेको एक्यापले जनाएको छ । मौसमले साथ नदिएकाले माथिल्लो क्षेत्र जान जोखिम हुने भन्दै पर्यटकलाई एक्यापले सचेत गराएको छ । कति एक्यापको अनुरोधलाई नमानी आफू खुसी पनि माथिल्लो क्षेत्र पुगेका छन् ।

मनाङमा शुक्रवार २४ जना र शनिवार ३६ जना पर्यटक भित्रिएका छन् । केही मनाङमै बसेका छन् । केही याकखर्कका लागि हिँडेका छन् । हिउँ परिरहेकाले यात्रा गर्न कठिन हुने, ज्यान जोखिममा पर्ने भएकाले पटक पटक एक्यापले पर्यटकलाई आग्रह गर्ने गरेको छ । शनिवार केही पर्यटकलाई हेलिकप्टरबाट पनि उद्धार गरी बेँसी सहर ल्याइएको छ । मौसम खुलेपछि पर्यटक हेलिकप्टरमार्फत फर्किएका छन् । केही मौसम राम्रोसँग सुधार भएपछि फर्किने भन्दै बसेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार पर्यटकीय सिजनको समय पर्यटक आउने र यो समय जोखिम भएकाले सचेत रहन अनुरोध गरिएको छ । हिउँ र बर्सातलाई ख्याल गरी मौसम, बाटोको अवस्था पूर्व जानकारी लिएर मात्र सुरक्षित साथ यात्रा गर्न अनुरोध गरिएको छ । वर्षा भइरहेकाले नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्व सावधानी एवं सतर्कता अपनाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय वा एक्याप, एक्यापको चेकपोस्टमा खबर गर्न भनिएको छ ।

एक्याप मनाङका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मौसम प्रभावित भएपछि पदमार्ग आएका पर्यटक फर्किएका छन् । शुक्रवार १०० जना जति र शनिवार १ सय ५० जना जति फर्किएको बताउनुभयो । कतिपय ठाउँमा पहिरो गएर बाटो बिग्रेको र कति ठाउँमा जोखिम भएकाले पर्यटक फर्किएका हुन् । याकखर्क, मनाङ, पिसाङ, चामे, दानाक्यूबाट पनि पर्यटक फर्किएका छन् । केही पैदल हिँडेर फर्किएका छन् । केही हेलिकप्टरमार्फत फर्किएको बताउनुभयो । जोखिमको बाबजुद पनि पदमार्गमा पर्यटक आइरहेका छन् ।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुङ्गिन्छ । यसअघि २१ दिने यात्रामा पूरा हुने उक्त पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर ७ देखि १० दिनमा धेरै पर्यटकले यात्रा टुङ्ग्याउने गरेका छन् ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।