• २७ मङ्सिर २०८२, शनिबार

सोसल पब्लिक स्कुलमा उद्‍घोषण तथा भाषणकला तालिम

blog

पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलमा उद्‍घोषण तथा भाषण कलासम्बन्धी दुईहप्ते तालिममा सहभागी विद्यार्थी ।

पोखरा, मङ्सिर २७ गते । पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलमा उद्‍घोषण तथा भाषण कलासम्बन्धी दुईहप्ते तालिम शनिबार सम्पन्न भएको छ ।

तालिममा अनुपम म्युजिक तथा कास्की मल्टिमिडियाका प्रबन्ध निर्देशक अनुराग अधिकारीले सहजीकरण गर्नु भएको थियो । अधिकारीले आफूले विद्यार्थीको चाहना, आवश्यकता र क्षमतालाई मध्यनजर राखेर प्रशिक्षण गरेको अनुभव सुनाउनु भयो ।

 विद्यालयका संस्थापक तथा निर्देशक खिमबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्रकी प्रमुख शान्ति गुरुङले सोसल पब्लिकले विद्यार्थीलाई जीवन सिकाउने अभियान सञ्चालन गरेको बताउनु भयो ।

 विद्यार्थीको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै गुरुङले सही ठाउँमा सही कुरा सही तरिकाले प्रयोग गर्न भाषणकलाले सिकाउने धारणा व्यक्त गर्नुभयो ।

 उहाँले  बोल्ने कला जीवनको आधारभूत सीप भएको धारणा राख्नुभयो ।आफूभित्रको प्रतिभा चिन्नका लागि आग्रह गर्दै सञ्चारकर्मी गुरुङले विविधीकरणबाट मुक्ति पाउनका लागि पनि वाककलाको भूमिका रहने बताउनुभयो । 

विद्यालयको निर्देशक खिमबहादुर गुरुङले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा उजागर गर्नका लागि विविध गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनु भयो ।

 उहाँले विद्यालयले किताब मात्र नभई जीवन पढाउने अभियान सञ्चालन गरेको भन्दै विद्यार्थी केन्द्रित गतिविधिमा विद्यालयले जोड दिएको दाबी गर्नु भयो ।  

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सिद्धार्थ शर्मा, साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी, अभिभावक रियाज गुरुङ र प्रज्वल भित्रकोटीले शुभकामना दिनु भएको थियो ।

प्रशिक्षार्थीहरू आरुषी बानियाँ र दीपिका क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा निस्मा केसी, श्रीयाज गुरुङ, ग्रीष्मा शर्मा, अस्मिता सुनार, प्रियङ्का गुरुङ, रीति बरुवाल र दीक्षा थापाले प्रशिक्षणको अनुभव सुनाउनु भएको थियो ।तालिममा कक्षा ६ देखि १० सम्मका ४५ जना विद्यार्थीको सहभागिता थियो ।