• २७ मङ्सिर २०८२, शनिबार

स्वरूप परिवर्तन गरेका मोटरसाइकल समात्दै प्रहरी

blog

नियन्त्रणमा लिएर ट्राफिक कार्यालयमा राखिएको स्वरूप परिवर्तन गरेका मोटरसाइकल । तस्बिर : ज्ञानु पंगेनी

ज्ञानु पङ्गेनी 

मध्यविन्दु , मङ्सिर २७ गते । स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाइकल, नियन्त्रण अभियानमा प्रहरी लागि परेको छ। 

जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपुर सिभिलमै खटिएर स्वरूप परिवर्तन गरेका मोटरसाइकल समात्ने कार्यमा जुटेको छ । 

स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय र प्रहरी स्वयं आजित बनेपछि त्यस्ता मोटरसाइकललाई नियन्त्रण गर्ने कार्यमा प्रहरीले तदारुकता देखाएको हो । 

शनिबार बिहान प्रहरीले ग्यारेजबाटै एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। मङ्सिर २३ गते एकै दिन स्वरूप परिवर्तन गरेका २२ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाले जानकारी दिनुभयो । 

एक हप्ताभित्र २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रकृयामा रहेको प्रहरी निरीक्षक बर्तौलाले जानकारी बताउनुभयो । २३ गते जिल्ला प्रहरी र ट्राफिक प्रहरीको चार वटा टोलीले सिभिलमा खटिएर कावासोतीका विभिन्न स्थानबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको बर्तौलाले जानकारी दिनुभयो । 

नियन्त्रणमा लिएका केही मोटरसाइकलका चालकहरूलाई बोलाएर सम्झाई बुझाई गरी साइलेन्सर निकालिएको र जनही पाँच सय रुपियाँ जरिवाना काटेर छाडिएको छ भने , केहीलाई कारबाहीका लागि यातायात कार्यालयमा पठाइने तयारी गरिएको छ । 

 यातायात कार्यालयमा पठाइने मोटरसाइकलले प्रति मोटरसाइकल सात हजार ५० रुपियाँका दरले जरिवाना तिर्नु पर्ने हुन्छ । कुनै पनि सवारी साधन ध्वनि प्रदूषण हुने गरी कोलाहल मच्चाउनु, स्वरूप परिवर्तन गरी चलाउनु, लापरबाही ढङ्गले चलाउनु कानुन विपरीत हुने हुँदा त्यस्ता सवारीलाई कारबाही गरिने प्रहरी निरीक्षक बर्तौलाले बताउनु भएको छ ।

 स्वरूप परिवर्तन गरी चलाएको पाइएमा तुरुन्तै समात्ने र कारबाही गरिने उहाँको भनाइ छ ।  ठुलो आवाज निकाली सवारी साधन चलाउँदा ध्वनि प्रदुषण हुनुका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले ट्राफिक नियमको पालना गरी सवारी चलाउन समेत उहाँले अनुरोध गर्नु भएको छ ।