तिलाचन पाण्डे
तम्घास, असोज २२ गते । विगत पाँच दिनदेखि परेको वर्षाका कारण गुल्मीका अधिकांश सडकहरू अवरुद्ध भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको बीच बीचमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले बताउनुभएको छ । वर्षा रोकिएपछि सडक खुलाउनका लागि डोजर प्रयोग गरिने उहाँको भनाइ छ ।
यस्तै, मदनभण्डारी राजमार्गको तम्घास सिमलटारी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ । सो सडकखण्डको फूलबारीलगायत बीच बीचमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण रुद्धबेनी वामी टक्सार सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै, ग्रामीणस्तरका प्रायः सबै सडकहरू अवरुद्ध भएका छन् ।
पहिरोले विद्युत् सेवा अवरुद्ध
यस्तै, अविरल वर्षाका कारण पहिरो खसेर ३३ केभी लाइनको टान्सर्फमर र पोलमा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा रहेको ३३ केभी लाइनको टान्सर्फमर र पोलमा क्षति पुगेका कारण विद्युत् सेवा अवरुद्ध भएको नाल विद्युत् प्राधिकरण वितरण केन्द्र, गुल्मीले जनाएको छ । रेसुङ्गा नगरपालिकाको प्रशासकीय भवन नजिकैबाट पहिरो खस्दा विगत तीन दिनदेखि सदरमुकाम तम्घास र पश्चिम क्षेत्रमा सेवा अवरुद्ध भएको र मर्मतको कार्य जारी रहेको कार्यालयले जनाएको छ ।
यस्तै, रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पानी रोकिएसँगै ग्रामीणस्तरका सबै सडकहरू खुलाउनका लागि डोजरहरू प्रयोग गरी यथाशक्य सडक खुलाउन आफू लागिरहेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय, गुल्मीले यात्रा गर्दा सजग भएर यात्रा गर्न आग्रह गरेको छ । यात्रा गर्नुभन्दा पहिले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र प्रहरीमा बुझेर यात्रा गर्न प्रहरी र जिल्ला प्रशासनले आग्रह गरेको छ ।