• १९ असोज २०८१, शनिबार

नेता ओझाद्वारा कैलाली ५ मा उम्मेदवारी घोषणा

blog

धनगढी, असोज २१ गते । गत निर्वाचन २०७४ मा कारबाहीमा पर्नुभएका नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझाले स्वतन्त्रबाट कैलाली क्षेत्र नं. ५ मा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । 

निर्वाचनमा असहयोग गरेको आरोपमा कारबाहीमा पर्नुभएका पूर्व सञ्चारराज्यमन्त्री ओझाले कैलाली–५ बाट आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो  । आज शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा धनगढीका मतदाताको आत्मसम्मानको रक्षा गर्नुपर्ने कर्तव्यबोधबाट प्रेरित भएर स्वतन्त्र रूपमा उम्मेदवारीको घोषणा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई कैलालीका जनताले दुई पटक जनप्रतिनिधि निर्वाचित गर्नुभयो । उहाँहरूको विश्वास र आत्मसम्मानको रक्षा गर्नु मेरो दायित्व हो ।” यसका लागि आगामी निर्वाचन आफ्नो लागि राम्रो अवसरका रूपमा रहेको उहाँले दाबी गर्नुभयो । २०५६ सालमा कैलाली क्षेत्र नम्बर ३ र २०७१ उपचुनावमा धनगढी क्षेत्र नम्बर ६ (हालको ५) बाट उहाँ निर्वाचित हुनुभएको थियो । 

धनगढीका मतदाता बिकाऊ माल होइनन् भन्दै धन, बल, शक्तिको आडमा मतदातालाई प्रभावित पार्न सकिन्छ भन्ने प्रवृत्तिका मान्छे अहिले देशका विभिन्न क्षेत्रबाट उम्मेदवार बन्ने प्रयासमा रहेको उहाँले टिप्पणी गर्नुभयो । आफू कुनै व्यक्तिको भन्दा पनि प्रवृत्तिको विरुद्धमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

केही व्यक्तिहरू ब्यागमा टन्न पैसा बोकेर चुनाव क्षेत्रको खोजीमा लागेको उहाँको भनाइ छ । यस्तो प्रवृत्ति कैलाली–५ मा पनि देखिएको उहाँले बताउनुभयो । २०३४ सालदेखि नेविसंघबाट कांग्रेसको राजनीतिमा अनवरत लाग्नुभएका नेता ओझाले नेपालका राजनीतिक नेतृत्वको गलत सोच, व्यवहार र क्रियाकलापका कारण हरेक क्षेत्र दूषित बनेको आरोप लगाउनुभयो । 

हरेक दलमा असन्तुष्ट नेता कार्यकर्ता र मतदाता धेरै रहेकाले आफूले सहजै जित्ने आत्मविश्वास रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म सबै खालका पार्टीसँग नजिक रहेका मतदाताको सम्पर्कमा छु, उहाँहरूले मेरो हौसला बढाउनु भएको छ ।”