• ८ मंसिर २०८१, शनिबार

जातीय र लैङ्गिक विभेदविरुद्धको नाटक ‘२४ मा १२’

blog

काठमाडौँ, असोज ९ गते । नाटक ‘२४ मा १२’ हामी सबैले देख्दै र भोग्दै आएको समयको कथा हो। नाटकमा दुईवटा पात्रको जीवनमा आउने उतारचढावलाई प्रस्तुत गर्न खोजिएको छ। हाम्रो समाजमा रहेका जातीय विभेद, लैङ्गिक विभेदजस्ता कुराको सम्मिश्रण हो, नाटक। यी दुवै कुरालाई जरैदेखि निर्मूल पार्नुपर्छ भन्ने नाटकको मुख्य उद्देश्य हो। नाटकमा समयको मारमा परेका पात्रलाई चित्रण गर्न खोजिएको छ। समयको मारबाट ती पात्रले बाहिर निस्कन र समान अधिकारमा बाच्न के कस्ता सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा नाटकमा प्रस्ट्याउन खोजिएको छ। 

नाटकको सुरुवात रमाइलो ढङ्गबाट गरिएको छ। विभिन्न किसिमका घडीको लहरैलहर छ, जहाँ घडीहरूबीच आफूले बिताएको समयलाई फर्केर हेर्ने क्रममा एउटा घडीले आफूले बाँचेको र उसले भोगेको समयको विगतबाट ‘२४ मा १२’ को सुरुवता हुन्छ। नाटकको पहिलो पात्र बाबुराम (उमेश सुनाम) जो दलित हुन्। दलित भएर पनि बाबुराम गाउँकै उच्च जातकी उर्मिला (कृष्टिना बस्नेत)सँग प्रेममा पर्छन्। गाउँमा उनको सधैँजसो उर्मिलासँग भेट भइरहन्छ। बाबुराम रतन्धो हुन्छन् र उनले रातमा देख्न सक्दैनन्। नेता हिमान सिंह (राज न्यौपाने) उर्मिलाका बुवा हुन्। उनी दलितका मुद्दाबाट चुनाव जित्ने सुरसारमा हुन्छन् तर दलित मुद्दा उनको भाषणमा मात्र सुनिन्छ। उनलाई दलितप्रति यति धृणा हुन्छ कि उनीहरूको छायासमेत उनी आफ्नो अगाडि देख्न चाहँदैनन्। 


उच्च जातकी प्रेमिका पाउन बाबुरामले के कस्तो सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ। त्यस्तै नाटकमा अर्को पात्रका रूपमा पूर्ण (सन्जित प्रताप मल्ल)लाई देखाइएको छ। उनी साथीहरूसँग रातमा ग्राहक कुर्ने काम गर्छन्। प्रहरीबाट लुकी–लुकी पूर्ण आफ्नो र आफ्नो भाइको पेट पाल्ने काम गरिरहेका हुन्छन्। पूर्ण पुरुषको शरीरमा जन्मिए पनि उनीभित्र महिलाको स्वभाव हुन्छ। बुवाले भन्नुभएको म जस्ताका लागि हाम्रो गाउँमा ठाउँ छैन रे। आफ्नो परिवारको इज्जत नजाओस् भनेर बुवाले मलाई यही छाडेर आफू हराउनुभयो। पूर्णले यो व्यथा आफूजस्तै अर्को एक यौनिक तथा अल्पसङ्ख्यक समुदायकी पात्रसँग सुनाए। यौनिक तथा अल्पसङ्ख्यक समाजबाट मात्र होइन, परिवारबाटै कसरी अपहेलित हुन्छन् भन्ने कुरा नाटकले बताउँछ। यही नै हो २४ मा १२ घण्टा मात्रै बाँच्ने यी दुई पात्रको कथा। 

जात र लिङ्गले गर्दा के कस्ता समस्या भोग्नुपर्छ भन्ने कुरा नाटकभित्र छ। नाटकभित्र जात र लिङ्गले गर्दा काठमाडौँमा कोठा भाडामा पाउन कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा पनि छ। पानी नचल्ने जात र लैङ्गिक विभेदको कुराले मान्छेहरूभित्र कस्तो प्रभाव परेको छ भन्ने कुरा पनि नाटकले बताउँछ। 

नाटकमा समयको विम्बलाई बेजोड तरिकाले प्रस्तुत गरिएको छ। नाटकमा सुरुदेखि अन्त्यसम्म नै घडीले गर्ने क्रियाकलाप देखिन्छ। निर्देशक सङ्गीत सापकोटा घडीमा देखिने समयसँगै कथाका पात्रलाई पनि त्यहीअनुसार अभिनय गराउन सफल भएका छन्। उनले नाटकमा उठाएका हरेक मुद्दाले समाजमा घटिरहेका कुराको उजागर गर्छ। उनको निर्देशकीय पक्ष धेरै नै राम्रो छ। नाटकको सङ्गीतले पनि नाटकलाई माथि उठाउने काम गरेको छ। सङ्गीततर्फ निर्देशक सापकोटा, मोनिश निरौला, मनोज महर्जन र परिवर्तन कोइरालाले गरेको काम उच्च छ।

उमेश सुनामले लेखेको नाटकमा आलोक थामी, प्रमिला खनाल, अस्मिता खनाल, सङ्गीता थापा, विशाल देवकोटा, सुन्दर धिताल, उमेश सुनाम, पूर्णबहादुर गन्धर्व, विशाल रिजाल, अर्जुन दुलाल, दिपेश काफ्ले, मनीषा ओझा, विपिन जयसवाल, रोहित श्रेष्ठ, भुवन लुहार, रवीन्द्र खत्री, समायरा श्रेष्ठ, अलि शाह, नवीन प्याकुरेलको अभिनय रहेको छ।