• १ मंसिर २०८२, सोमबार

देवीदेवतामा समर्पित चर्यानृत्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १ गते । देवीदेवतामा समर्पित नृत्यचर्यानृत्यको आयोजना गरिएको छ । वज्र कलाकुञ्जद्वारा शनिबार राजधानीमा आयोजित ‘महानगर चर्या डान्स गाला–२०८२’ मा काठमाडौँ, ललितपुर, भक्तपुर र धरानको चर्यानृत्य टोलीले सहभागिता जनाएका हुन् । 

वज्र कलाकुञ्जका संस्थापक चन्द्रमान मुनिकारले नेवार परम्परामा गुप्त राखिने थुप्रै चर्यानृत्यबाहेकका सबैसामु देखाउन मिल्ने चर्याको प्रकारलाई पुस्तान्तरण गर्दै जाने क्रममा वज्र कलाकुञ्जको स्थापना गरी त्यहाँ दीक्षित कलाकार र अन्य नृत्य सेन्टरमा सिकेका चर्यानृत्यलाई सार्वजनिक गर्ने अवसर प्रदान गरिएको बताउनुभयो । उहाँले देवी, देवतामा समर्पित चर्यानृत्य विवि विधान पुर्‍याएर गुरुबाट सिक्नुपर्ने र सबैले सो नृत्य गर्न पनि मिल्दैन र देखाउन पनि मिल्दैन भने कतिपय सामान्य विधि पछ्याएर पनि सिकाउन सकिने चर्यानृत्यको संरक्षण गर्ने वज्र कलाको प्रयास रहेको बताउनुभयो । 

संस्थापक मुनिकारले यस नृत्य नाफा, फाइदाका लागि सिकाइँदैन, इच्छुक सबैलाई निःशुल्क प्रशिक्षण दिइन्छ भन्ने जानकारी दिँदै आगामी दिनमा यसको व्यवस्थित व्यवस्थापनका चर्या एकेडेमी नै स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । समारोहमा चर्यानृत्य गुरुहरू मूलचक्रेश्वर फणीन्द्ररत्न वज्राचार्य र यज्ञपति वज्राचार्यलाई सम्मान गरिएको थियो । 

गुरुवन्दना नृत्यबाट सुरु भएको चर्यानृत्य समारोहमा धिमेबाजा नृत्य, मञ्जुश्री, कुरुकुल्ला तारा, कालभैरव, वज्रयोगिनी, सिंहमुखी, बुङ्गम लोकेश्वर, वज्रसत्व, अन्नपूर्णालगायतका चर्यानृत्य प्रस्तुत गरिएको थियो । चर्यानृत्यमा सहभागी समूहलाई मायाको चिनो प्रदान गरिएको थियो ।