गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदाको सहर ललितपुर महानगरको नगर प्रहरीले सम्पदा संरक्षणदेखि विपत्मा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ललितपुर महानगरको सेवा प्रवाहको सन्दर्भमा तयार पारिएको ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक श्रव्यदृश्य सामग्री प्रदर्शनी कार्यक्रममा महानगर प्रमुख महर्जनले नगर प्रहरीले महानगरले मूर्त/अमूर्त सम्पदाको संरक्षणका लागि सरसफाइदेखि जात्रा, पर्वमा शान्तिपूर्ण व्यवस्थापनमा योगदान दिँदै स्थानीय बासिन्दाको सेवामा अहोरात्र खटिएको बताउनुभयो ।
महानगरद्वारा आइतबार आयोजित कार्यक्रममा श्रव्यदृश्य सामग्री प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख महर्जनले महानगरको हरेक समस्यामा दु्रत गतिले सेवा पु¥याउन स्थापना गरिएको हेल्पलाइन ११३१ र आगलागी भएमा स्विच थिच्दा नगर प्रहरी ४/५ मिनेटभित्रै उपस्थित भएर सेवा दिने प्रणालीका कारण सीताराम हाछेतुको नेतृत्वमा रहेको नगर प्रहरीको काम प्रशंसनीय बनेको बताउनुभयो ।
महानगरका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै सांस्कृतिक र सम्पदायुक्त महानगरको शान्ति, सुव्यवस्था, अतिक्रमण हटाउने, सम्पदा र सहरको सौन्दर्यीकरणमा ललितपुर नगर प्रहरीको योगदान देखिने गरी काम भएको बताउनुभयो ।
सो अवसरमा प्रदर्शन गरिएको नगर वृत्तचित्रमा नगर प्रहरीले ललितपुरका ऐतिहासिक, पुरातात्त्विक महत्वका पोखरी, मठ, मन्दिर, चैत्य विहार, हिटीलगायतका सम्पदाको संरक्षणका लागि सरसफाइमा खटिएका, महानगरको हरियाली वृद्धिका लागि बोटबिरुवा रोप्ने, रातो मछिन्द्रनाथको जात्रा, भोटो देखाउने जात्रालगायत स्थानीयले मनाउने जात्रा/पर्वलाई व्यवस्थित बनाउन, शान्ति सुरक्षामा पु¥याएको योगदान उजागर गरिएको थियो ।
ललितपुरका नगर प्रहरीले सम्पदाको संरक्षण, व्यवस्थापनमा सहयोग पु¥याउँदै त्यस्ता सम्पदा, स्थानीयको घरलगायतका स्थानमा आगलागी, दुर्घटना, बाढीपहिरोलगायतका विपत्मा स्थानीयलाई सहयोग गर्न गरिएका प्रशिक्षण, आवश्यक आधुनिक सामग्रीसहितको व्यवस्थित तयारी पनि गरिएको देखाइएको थियो । ललितपुर महानगरले भदौ २४ गतेको आगलागीमा सिंहदरबारलगायतका सम्पदाको आगो निभाउन फोमसहितको अत्याधुनिक दमकल ७९ पटकसम्म परिचालन गरेको जनाएको छ ।