• १३ साउन २०८१, आइतबार

उखु कृषकलाई १४ करोड अनुदान

चाडबाडको मुखमा भुक्तानी पाउँदा कृषक मक्ख

blog

चिनी मिलमा उखु पुर्‍याएका र खेतमा उखु तयार गर्दै कृषक । तस्बिरः रवीन्द्र उप्रेती

बर्दिबास, असोज ६ गते । सरकारले यो वर्ष उखु किसानलाई दशैंअघि नै अनुदानको रकम उपलब्ध गराएको छ । चाडबाडको मुखमा अनुदान पाएपछि उखु किसान मक्ख छन् । 

सरकारले क्रसिङ सिजन ०७८/७९ मा चिनी मिललाई उखु उपलब्ध गराएका महोत्तरीका किसानको खातामा १४ करोडभन्दा बढी रकम भुक्तानी गरेको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) महोत्तरीका अनुसार महोत्तरीमा साना ठूला गरी २ वटा चिनी मिल सञ्चालनमा छन् । दुवै मिलमा उखु दिएका ११ हजार ३८१ कृषकको खातामा १४ करोड २९ लाख ६३ हजार रुपियाँ निकासा गरिएको हो । 

कोलेनिका प्रमुख बालकृष्ण अधिकारीका अनुसार रामनगरस्थित एभरेष्ट सुगर मिललाई उखु दिने दश हजार ९६४ किसानलाई १३ करोड ९३ लाख ६० हजार अनुदानको वितरण गरिएको छ । यो पटक एभरेष्टले १९ लाख ९० हजार ८६५ क्विन्टल उखु क्रसिङ गरी १ लाख ८० हजार १५९ क्विन्टल चिनी उत्पादन गरेको थियो । 

त्यसतै भरखरै सञ्चालनमा आएको सिद्धिविनायक चिनी मिलका ४१७ जना उखु किसानको खातामा ३६ लख ३ हजार अनुदान रकम पठाइएको पनि अधिकारीले जनाउनुभयो । सिद्धिविनायकले ५१ हजार ४७२ क्वि. उखु क्रसिङ गरी ६ हजार क्वि चिनी उत्पादन गरेको थियो । 

सरकारले यो वर्ष अनुदान रकम बढाएर प्रति क्विन्टल ७ रुपियाँ गरेकोले पनि किसानमा खुसी छाएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश कुशवाले बताउनुभयो । अगिल्लो वर्ष प्रति क्वि. उखुको अनुदान ६ रुपियाँ २० पैसा मात्र थियो । ‘चाडबाडको मुखमा बढेको रकमसहित अनुदान उपलब्ध गराएकोले उखु किसानको मुहार उज्यालो भएको हो’ कुशवाहाले भन्नुभयो । 

कोलेनिका प्रमुख अधिकारीका अनुसार सरकारले बजेटमै व्यवस्था गरेअनुसार उखु किसानलाई अनुदान उपलब्ध गराएको हो । आव २०७९/८० को बजेटमा मुलुकभरका उखु कृषकलाई अनुदान उपलब्ध गराउन सरकारले ८१ करोड रुपियाँ विनियोजन गरेको थियो । 

अहिले उखुको मूल्य उद्योगले ५२० र सरकारले अनुदानबापत ७० गरी प्रति क्वि. ५९० कायम गरिएको छ । उखु कृषकले भने प्रति क्वि. न्यूनतम ७०० रुपियाँ माग गर्दै आएका छन् । 

Author

रवीन्द्र उप्रेती