• १३ साउन २०८१, आइतबार

ट्युबवेल मर्मत नहुँदा पानीको समस्या

blog

धनगढी समाचारदाता

धनगढी, असोज ६ गते । कैलालीको मोहन्याल गाउँपालिका–७ ओखडेकोटवासीलाई खानेपानीको जोहो गर्न समस्या भएको छ। 

गाउँमा निर्माण भएको डिप ट्युबवेल बनेको दुई वर्षमै बिग्रेपछि ओखडेकोटमा खानेपानीको हाहाकार भएको हो। उनीहरू टाढाबाट मूलको पानी ल्याएर खान बाध्य भएका छन्। “खानेपानी छैन, धेरै दुःख लागेको छ,” स्थानीय सन्यासी बोहराले भन्नुभयो, “डिप बोरिङ बन्दा खुसी लागेको थियो तर त्यो बोरिङ दुई वर्ष मात्रै चल्यो। एक वर्षभन्दा बढी समयदेखि बन्द छ।” 

ओखडेकोटमा १५० घरधुरीमा मानिसहरूको बसोबास छ। उनीहरू खानेपानीका लागि भोग्दै आएको समस्यालाई मध्यनजर गरेर सुदूरपश्चिम प्रदेश सरकारको ५० लाख रुपियाँ लगानीमा डिप ट्युबवेल जडान गरिएको थियो तर सौर्य ऊर्जाबाट चल्ने डिप ट्युबवेल दिगो भएन। बनेको दोस्रो वर्षदेखि पानी आउन छोड्यो। एक वर्षदेखि त्यो बन्द रहेको र आफूहरू फेरि टाढाबाट मूलको पानी ल्याएर खान बाध्य भएको स्थानीयवासीले बताएका छन्। 

पानी अभावले आफूहरूको जीवन पीडादायी बनेको बोहराले बताउनुभयो। “डिप ट्युबवेल बनेपछि निकै खुसी लागेको थियो,” उहाँले भन्नुभयो, “तर खुसी धेरै वर्ष टिकेन। अहिले न डिप ट्युबवेल चलेको छ न त गाउँमा खानेपानी आएको छ।” 

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत डिप ट्युबवेल बनाइएको थियो। आर्थिक वर्ष २०७६/७७ मा बनेको डिप ट्युबवेलले दुई वर्षसम्म राम्रै पानी दिएको उपभोक्ता समितिका अध्यक्ष शिव अधिकारी बताउनुहुन्छ। “सोलारबाट चल्ने डिप ट्युबवेल हो,” उहाँले अगाडि थप्नुभयो, “बच्चाहरू खेलेपछि सोलारको एउटा सामान बिग्रेर ट्युबवेल बन्द भयो, त्यो सामान नपाइएकाले अहिलेसम्म बन्दको बन्दै रहेको छ।” 

एक वर्षदेखि बन्द अवस्थामा रहेको डिप ट्युबवेलको मर्मतका लागि भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयलाई जानकारी गराइसकेको उहाँले बताउनुभयो। “कार्यालयको प्राविधिकसमेतको टिम आएर हेरेर गइसकेको छ,” अधिकारीले भन्नुभयो, “गत वर्ष नै बनाउने कुरो थियो तर बर्खा लागेर बाटो बिग्रिएपछि बनाउने प्राविधिक आउन सकेनन्। यो वर्ष अब सायद बनाउन आउँछन् होला।” 

प्रदेश सरकारको ठूलो लगानीमा बनेको डिप ट्युबवेलले अझै पूर्णता पाउन सकेको छैन। केही काम बाँकी रहेकाले उद्घाटन पनि गरिएको छैन। गाउँमा खानेपानीको समस्या रहेका कारणले आफूले आग्रह गरेर ट्युबवेल भने सञ्चालन गर्न लगाएको उपभोक्ता समितिका अध्यक्ष अधिकारीको भनाइ छ तर उद्घाटन नहुँदै डिप ट्युबवेलमा पानी आउन छोडेको छ।

“पाँच÷छ सय फिट तल गाडिएकाले सोलारले पानी तान्न गाह्रो पनि हुने गरेको छ,” उहाँले भन्नुभयो, “त्यसैले विद्युत्बाट चलाउने भनेर मैले आग्रह गरेको छु। ओखडेकोटसम्म अब विद्युत् पनि पुगिसकेको छ।” सोलारको एक वर्ष र डिप ट्युबवेलको दुई वर्ष ग्यारेन्टी रहेको थियो। तेस्रो वर्षमा सोलार बिग्रेकाले सोलार जडान गर्ने कम्पनीले बिग्रेको सामानको जिम्मा नलिएको जनाइएको छ। 

यता, भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले सोलारको रेगुलेटर बिग्रेको र त्यो नेपालमा नपाइएका कारण बनाउन नसकिएको जनाएको छ। “त्यो रेगुलेटर विदेशबाट ल्याउने हो, यहाँ पाइँदैन,” कार्यालयका प्रमुख श्रवण खनालले भन्नुभयो, “रेगुलेटर आउने बित्तिकै डिप ट्युबवेल बन्छ।” 

गत वर्ष बजेट कम भएका कारण मर्मत गर्न नसकिएको उल्लेख गर्दै उहाँले यो वर्ष मर्मतका लागि बजेट विनियोजन गरेको बताउनुभयो। “यो वर्ष डिप ट्युबवेलको मर्मत हुन्छ,” उहाँले भन्नुभयो।