• ३ असार २०८१, सोमबार

लक्ष्यभन्दा बढी राजस्व

blog

काठमाडौँ, असोज ६ गते  । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आव २०७८/७९ मा नौ अर्ब ८७ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १० अर्ब ६० करोड ४८ लाख ३७ हजार ८६० रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । यो लक्ष्यको ११६ प्रतिशत हो । 

यस्तै आव २०७७/७८ मा १० अर्ब ७६ करोड ६५ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा आठ अर्ब ३८ करोड ८७ लाख ६६ हजार ५२० रुपियाँ राजस्व सङ्कलन भएको थियो । यो लक्ष्यको ७७ दशमलव ९२ प्रतिशत मात्रै हो । राजस्व सङ्कलनमा कडाइ गरेका कारण विभिन्न शीर्षकबाट राजस्व सङ्कलनमा उलेख्य वृद्धि भएको हो । 

महानगरपालिका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले पुरानो बक्यौता रकम उठेकाले गत आर्थिक वर्ष राजस्व सङ्कलन लक्ष्यभन्दा बढी भएको बताउनुभयो । सम्पत्ति कर, बहाल कर, मनोरञ्जन करलगायत विभिन्न शुल्क सङ्कलनमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । कवाडी करलाई ठेक्कामा लगाएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको महानगरले जनाएको छ । 

गत वर्ष पर्यटन शुल्क, सम्पत्ति कर, घरबहाल कर, भूमिकर/मालपोत, अभिवृद्धि कर, सवारीसाधन कर, मनोरञ्जन कर, नक्सा पास दस्तुर, नाता प्रमाणीकरण दस्तुर सङ्कलनमा उच्च वृद्धि भएको महानगरले जनाएको छ । महानगरका अनुसार सम्पत्ति, बहाल तथा पट्टाबापतको आयमा लाग्ने करबाट प्राप्त रकम लक्ष्यको १६८ प्रतिशत सङ्कलन भएको छ । सो कर आव २०७८/७९ मा पाँच करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेको आठ करोड ४२ लाख २८ हजार ३७३ रुपियाँ सङ्कलन भएको छ । 

यस्तै सो आर्थिक वर्ष ८० करोड रुपियाँ सम्पत्ति कर सङ्कलन गर्ने लक्ष्य रहेकामा ८७ करोड ६४ लाख ५० हजार ६३२ रुपियाँ सङ्कलन भएको छ, जुन १०९ प्रतिशतले बढी हो । एक अर्ब ७५ करोड रुपियाँ घरबहाल कर सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ३६ करोड ४८ लाख एक हजार  ६५४ रुपियाँ सङ्कलन भएको छ । यस्तै घरजग्गा रजिस्टे«सन दस्तुर एक अर्ब ८९ करोड सङ्कलन गर्ने लक्ष्य रहेकामा १४७ प्रतिशतले बढेर दुई अर्ब ६५ करोड ४१ लाख ५८ हजार रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ । यस्तै पर्यटन शुक्ल लक्ष्यको ४५६ प्रतिशत अर्थात् दुई करोड ३७ लाख २६ हजार ५५० रुपियाँ सङ्कलन भएको  जनाएको छ । 

सो आर्थिक वर्ष बाँडफाँटबाट प्राप्त हुने कर राजस्वको रकम पनि बढेको महानगरले जनाएको छ । सवारीसाधन कर लक्ष्यको १०५ प्रतिशत अर्थात् ४२ करोड १७ लाख ३४ हजार रुपियाँ सङ्कलन भएको छ । बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर १० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ८५ लाख ९५ हजार ६२२ रुपियाँ सङ्कलन भएको छ । सङ्कलन गर्ने निकायले ६० प्रतिशत र अर्काेले ४० प्रतिशतका दरले बाँडफाँट गर्ने गर्छन् । 

ठूला करदातालाई कर तिर्न निर्देशन

महानगरपालिकाले ठूला करदातालाई १० दिनभित्र सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिएको छ । महानगरपालिकाले बुधबार पत्र काटेर विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको हो । दस दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकीसरह असुलउपर गरिने महानगरले जनाएको छ । 

जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओसान इन्टरनेसनल कलेज, वल्र्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरले जनाएको छ । यस्तै बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौंँ इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लुबर्ड इन्भेस्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एडभान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएको छ ।