• १३ साउन २०८१, आइतबार

नागरिकतामा ह्वात्तै चाप बढ्यो

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज ६ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता बनाउन पुग्ने सेवाग्राहीको चाप ह्वात्तै बढेको छ। कार्यालयका प्रशासकीय अधिकृत राजकुमार थापाका अनुसार नागरिकता फाँटमा दुई दिनदेखि सेवाग्राहीको चाप अत्यधिक बढेको हो। कार्यालयबाट नयाँ र प्रतिलिपि गरी दैनिक १८० देखि दुई सयको हाराहारीमा नागरिकता जारी हुने गरेको छ। 

चाप बढेसँगै सेवाग्राहीलाई नागरिकता बनाउन झनै सास्ती थपिएको छ। नागरिकताका लागि सेवाग्राही ठेलमठेल गरी दिनभर लाममा उभिएको देखिन्छ। दुरीको हिसाबले टाढा पर्ने बलरा, पर्सा, रामनगर, विष्णु, हरिपूर्वालगायत पालिकाका बासिन्दालाई घण्टौँ धाएर सदरमुकाम मलङ्गवा पुग्न र जिल्ला प्रशासन कार्यालयमा दिनभर लाम लागेर नागरिकता बनाउन समस्या भएको छ। 

सर्लाहीका २० पालिकामध्ये १६ वटा पालिकाका बासिन्दालाई नागरिकता प्रदान गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालयलाई सेवाग्राहीको चाप व्यवस्थापन गर्न मुस्किल पर्दै आइरहेको छ। बढ्दो जनसङ्ख्याअनुसार कर्मचारी र प्रविधिको व्यवस्था हुन नसक्दा नागरिकता फाँटको कामकाज अस्तव्यस्त बनेको सेवाग्राहीले गुनासो गरेका छन्।  जिल्ला प्रशासन कार्यालयले कर्मचारीको अभावसमेत खेप्दै आएको छ। कार्यालयमा केही समय दरबन्दीअनुसार तीन जना प्रशासकीय अधिकृत भए पनि एक जना प्रशासकीय अधिकृत सरुवा गराएर गएपछि नागरिकता फाँटमा अहिले दुई जना प्रशासकीय अधिकृत कार्यरत हुनुहुन्छ। सुब्बा, खरिदारजस्ता तल्लो तहका कर्मचारीको पनि अभाव नै छ। जिल्ला प्रशासन कार्यालयका अर्का प्रशासकीय अधिकृत कामेश्वर यादवले सम्पूर्ण कागजात पूरा गरेर आएका सेवाग्राहीलाई साँझ अबेरसम्म भए पनि नागरिकता बनाएर पठाउने गरिएको बताउनुभयो।