• ११ असोज २०८१, शुक्रबार

विराटनगरमा ‘राजखानी’ ले झुक्याउँछ

खसीको मासु पकाउँदा बाख्राको गन्ध

blog

नवराज कट्टेल

विराटनगर, असोज ६ गते । विराटनगर महानगरपालिकाले माछा–मासु बिक्री गर्ने फ्रेस हाउसको अनुगमन सुरु गरेको छ। चाडपर्व नजिकएसँगै माछा–मासु पसलको स्वच्छता, सुरक्षित भण्डारण, मार हान्ने ठाउँदेखि, मासु टुक्य्राउने अचानो र खुकुरीसम्मको सरसफाइमा सचेत गराउन महानगरले अनुगमनलाई तिव्रता दिएको हो। फ्रेस हाउसको स्वच्छताको अभावमा मानवीय स्वास्थ्यमा पर्नसक्ने असरलाई ध्यानमा राखेर सुरु गरिएको अनुगमनमा मङ्गलबार विराटनगर–९ स्थित एक मासु पसलमा खसी भन्दै बाख्राको मासु बिक्री गरेको भेटिएको छ। 

महानगर नेतृत्वको टोलीले विराटनगर–९ स्थित पुरानो गुद्रीमा सञ्चालित सदाम मिट सेन्टर, अजय माछा–मासु पसल, रोयल खान फ्रेस हाउस, समा फ्रेस हाउस, खान फ्रेस हाउसलगायतमा अनुगमन गरेको हो। 

त्यस क्रममा खसीको भनेर बाख्राको मासु बिक्री गर्दै आएको फेला परेको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिनुभयो। उपभोक्तालाई झुक्याएर बाख्राको मासु पनि बिक्री गर्ने गरेको पाइएपछि बाख्रा र सडेगलेको कुखुराको मासु जफत गरिएको छ। 

विराटनगरमा खसी भनेर बाख्राको मासु बिक्री गर्ने गरेको घटना यो नयाँ चाहिँ हैन। बारम्बार दोहोरिरहने गलत कारोबारले उपभोक्ता झुक्किने क्रम पनि दोहोरिइरहेको छ। बाख्रा काटेर खसीको राजखानी टाँसी झुक्याएरसमेत कारोबार हुने गरिएको भन्दै महानगरले नगरवासीलाई सचेत रहन आग्रहसमेत गरेको छ। 

“अनुगमनका क्रममा त्यस्तो समेत छनक पाएका छौँ,” पौडेलले भन्नुभयो। यकिन गर्ने अवस्था नहुँदा त्यसै फर्केर निगरानी बढाएका छौँ। उहाँले चाडपर्वमा बाख्रामा राजखानी टाँसेर खसीकै मूल्यमा मासु बिक्री गर्नेहरूको विषयमा सूचना रहेकोले त्यसैअनुसार निगरानीमा राखिएको जानकारी दिनुभयो। 

विराटनगरमा बाख्राको जिउमा खसीको राजखानी टाँस्ने विशेष प्रकारको फलामको अङ्कुश प्रयोग गरिन्छ। माछाको पासो बल्छीको टुप्पोमा भएको जस्तो अङ्कुश दुवैतर्फ राखेर बाख्राको शरीर र खसीबाट छुट्याएको राजखानीलाई जोडेर थाहा नपाउने बनाउने गरिएको छ। उपभोक्ताले राजखानी हेरेर मासु खरिद गर्दछन् तर मासु भने बाख्राको हुने गरेको छ।

दशैंमा मासु बिक्री गर्दै आएका पे्रmस हाउसहरूले स्वच्छ र सफाइमा ध्यान दिनुपर्ने पहिलो सर्त राखिएको पौडेलले बताउनुभयो। उपभोक्तालाई झुक्याउने किसिमको कुनै पनि कार्य गरेको पाइएमा तत्काल कारबाही गरिने पौडेलले बताउनुभयो। अनुगमनका क्रममा सदाम मिट सेन्टरबाट कम तौल भएको ढकसमेत बरामद गरिएको थियो। उक्त ढकसमेत जफत गरिएको छ। यस्तै दर्ता नवीकरणसमेत नगरी कारोबार गरिरहेका पसललाई दर्ता प्रक्रिया पूरा गरेर मात्रै कारोबार गर्न सचेत गराइएको छ।