काठमाडौँ, असोज ६ गते । ४३ औँ सामाजिक सेवा दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । समाज कल्याण परिषद्ले विभिन्न कार्यक्रम सहित ४३ औँ सामाजिक सेवा दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्नुहुँदै शुभकामना दिनुभएको छ ।
दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान भन्ने मूल नाराका साथ मनाउन मनाउन सुरु गरेको दिवसमा शुभकामना दिनुभएको हो । समाज कल्याण ऐन , २०४९ बमोजिम स्थापित समाज कल्याण परिषद्ले स्थापना कालदेखि नै मुलुकमा समाज सेवाको क्षेत्रलाई प्रवर्द्धन गर्न र गैर सरकारी सङ्घसंस्थालाई समाज कल्याणको क्षेत्रमा व्यवस्थित तवरले परिचालित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको छ ।
परिषद्ले स्वास्थ्य तथा शिक्षा सेवाको विस्तार, युवा, महिला, वृद्ध वृद्धा तथा सीमान्तकृत समुदायको सशक्तीकरण, मानव अधिकारको प्रवर्द्धन, उद्धार, कल्याण, आयआर्जन लगायतका विविध कार्यक्रम सञ्चालन गरी हाम्रो समाजलाई लाभान्वित तुल्याउँदै आएको उहाँले बताउनुभएको छ ।
गैर सरकारी सङ्घसंस्थाले सरकारको विकास सहयात्रीका रूपमा दुर्गम क्षेत्रका सर्वसाधारणको हित र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिनुभएको छ । उहाँले समाज कल्याणको क्षेत्रमा योगदान गर्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा समाजसेवीप्रति हार्दिक आभार समेत प्रकट गर्नुभएको छ ।