• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिबाट संविधानको उल्लङ्घन भयो : पूर्व राष्ट्रपति यादव

blog

सरस्वती नमूना माध्यमिक विद्यालयको भवन निर्माण कार्यको शिलान्यास गर्नुहुँदै पूर्व राष्ट्रपति डा. रामवरण यादव। तस्बिर : धर्वेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, असोज ५ गते । पूर्व राष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पास भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लङ्घन गरेको बताउनु भएको छ। 

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निमार्ण एवम् परिसर सुधार कार्यको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रलाई अगाडि बढाउनका लागि जनताको प्रतिनिधिबाट निर्मित संविधानको सबैले पालना गर्नुपर्ने उल्लेख गर्नुभयो। 

पूर्व राष्ट्रपति यादवले भन्नुभयो, ‘‘राष्ट्रपति जस्तो गरिमामय संवैधानिक संस्थाले संस्थाको मर्यादा विपरीत काम गर्नु हुँदैन । संविधानको पालना गर्नु हामी सबैको कर्तव्य हो । प्रधानमन्त्रीबाट दुई दुई पटक संसद् विघटन हुनु संविधान उल्लङ्घनको प्रत्यक्ष उदाहरण थियो। यस प्रकारको घटना पटकपटक घट्नुले प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्ने भएकोले यस प्रकारका घटना हुन नदिनका लागि हामी सबै सचेत हुन जरुरी छ।’’

अर्को प्रसङ्गमा पूर्व राष्ट्रपति यादवले तराई मधेशको शिक्षा र स्वास्थ्य क्षेत्र कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै यसको सुधारका लागि समुदायले नै अपनत्व ग्रहण गरेर सुधार गर्नु जरुरी भएको बताउनु भयो। 

उहाँले सरस्वती नमुना माध्यमिक विद्यालयमा पढेका विद्यार्थी देशको विभिन्न शीर्ष स्थानमा पुगे पनि विद्यालयको अवस्थामा सुधार नआएकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले भवन निमार्णका लागि सङ्घ सरकारबाट आएको रकमको सदुपयोग गर्नसमेत अनुरोध गर्नुभएको छ। 

कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई सांस्कृतिक हिसाबमा विश्व समाजमा स्थापित गर्नका लागि यसलाई जानकी जन्मिएको ठाउँको रूपमा विकास गर्न आवश्यक भएको बताउनुभयो। उहाँले विगतको जनकपुर र अहिलेको जनकपुरधाममा धेरै परिवर्तन भएको भन्दै जनकपुरधामको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भयो। उहाँले भ्याटसहित १० करोडको लागत अनुमानमा निमार्ण हुन लागेको विद्यालयको नौ वटा कोठा भएको दुई तल्ले भवन १५ महिना भित्रमा सक्न ठेकेदारलाई आग्रह गर्नुभयो। 

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहको अध्यक्षतामा भएको कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव रमेश सिंह, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष सितल शाह , वरिष्ठ पत्रकार राजेश्वर नेपाली सहितको उपस्थिति रहेको थियो।