काठमाडौं, असोज ५ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताउनुभएको छ। उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा उक्त विधेयक निष्क्रिय भएपछि बुधबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै यस्तो बताउनुभएको हो।
‘‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन’’, पुनले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ। संविधानको प्रमुख पालक र संरक्षकबाट नै संविधानको पालना र संरक्षण हुन नसकेको भन्दै जनआवाज उठेको भन्दै उहाँले यो परिस्थिति सिर्जना हुनु ज्यादै दुःखद पक्ष भएको बताउनुभएको छ।
विज्ञप्तिमा थप भनिएको छ, ‘‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ। पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन्। यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो।’’
उपराष्ट्रपति पुनले सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीँ असोज ३ गते हर्षोल्लासका साथ मनाएको सन्दर्भ उल्लेख गर्दै यसको पालन र संरक्षण गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ।
उहाँले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षलाई आग्रहसमेत गर्नुभएको छ।