• १३ साउन २०८१, आइतबार

अछामका ५३ जना प्रमुख र उपप्रमुखका उम्मेदवारलाई निर्वाचन आयोगको जरिवाना

blog

अछाम, असोज ५ गते । स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएर बेवास्ता गरेका अछामका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । निर्वाचन खर्च विवरण सम्बन्धी प्रावधान अनुसार खर्च विवरण नबुझाउने अछामका स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्म जरिवाना तोकेको छ ।

नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनेर विजयी भएका र पराजित भएका ५९ जनालाई जरिवाना तोकेर आयोगले विवरण सार्वजनिक गरेको छ । 

आयोगले सार्वजनिक गरेको विवरण अनुसार चारलाख ५० हजार जरिवानामा पर्नेमा २२ जना नगरपालिकाका प्रमुख र उपप्रमुख रहेका छन् । नगर र उपप्रमुखमा उम्मेदवारी दिएर निर्वाचन खर्च विवरण नबुझाएर जरिवानामा पर्नेमा कमलबजार नगरपालिकाका प्रमुखमा कटबहादुर साउँद, धन थापा र उपप्रमुखमा गौरी भण्डारी, दिलबहादुर विष्ट, मिना कुमारी छन् । पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखमा अम्बिकाकुमारी चलाउने (विजयी), इन्द्र रावल, टंकप्रसाद जैसी,  नन्दबहादुर कडायत, योगेन्द्रबहादुर विष्ट जरिवानाको रकम तिर्नुपर्ने भएको छ । सोही नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेका हर्कबहादुर रावल (विजयी) कृष्णाकुमारी जैसी, राजु सञ्जाल, शर्मिलाकुमारी शाहीले जरिवाना तिर्नुपर्ने भएको छ । 

मङ्गलसेन नगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहेका नमबहादुर शाही र उपप्रमुखका उम्मेदवार कृष्णा विष्ट, पूर्णबहादुर भण्डारी, बमबहादुर रावल, लोकबहादुर बोगटी चारलाख ५० हजार जरिवानामा परेका छन् । साँफेबगर नगरपालिकामा प्रमुख पदका उम्मेदवार खटकबहादुर बुढा र उपप्रमुखका उम्मेदवार रंगबहादुर ठकुल्ला र सन्तोषबहादुर कुँवरले पनि चारलाख ५० हजार जरिवाना रकम तिर्नुपर्ने भएको छ । 

गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भएर खर्च विवरण नबुझाएर कारबाहीमा पर्नेले तीन लाख ५० हजार जरिवाना रकम तिर्नुपर्ने छ । जसमा ढकारी गाउँपालिकामा अध्यक्षमा उम्मेदवार रहेका धर्मबहादुर शाही, प्रकाशबहादुर साउँद (विजयी), शेरबहादुर बुढालाई जरिवानामा परेका छन् । उपाध्यक्षका उम्मेदवार मायादेवी बुढा, देभकला चलाउने खत्री, नेत्रकला देवी शाही (विजयी)ले जरिवाना तिर्नुपर्ने छ । 

तुर्माखाँद गाउँपालिकाका अध्यक्षमा उम्मेदवार रहेका डम्बरबहादुर बिसी (विजयी), कर्णबहादुर बुढा, टेकबहादुर शाही, डबलसिंह चलाउने, निरकबहादुर शाही, मनबहादुर वयकले जरिवानामा परेका छन् । उपाध्यक्षमा उम्मेदवार रहेका बिमलाकुमारी शाही (विजयी), अनुजाकुमारी सिजापति, धर्माकुमारी बुढा, पवित्रा उपाध्यायले पनि जरिवाना तिर्नुपर्ने भएको छ ।  

बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार टेकबहादुर साउँद (विजयी) डम्बरबहादुर स्वार, ताराप्रसाद पाण्डे, लोकबहादुर साउँद आयोगको जरिवानामा परेका छन् । उपाध्यक्ष पदमा उम्मेदवार रहेका डम्बरा साउँद, निर्मलाकुमारी साउँद र विन्दु रावलले जरिवाना रकम बुझाउनु पर्ने भएको छ । मेल्लेख गाउँपालिकामा समिताकुमारी महर (साउँद) मात्र जरिवाना रकममा पर्नुभएको छ । 

यस्तै रामारोशन गाउँपालिका अध्यक्षमा उम्मेदवार रहनुभएको चक्रबहादुर रावल, पहलबहादुर साउँद, मानबहादुर साउँद (विजयी), लोकेन्द्र शाह जरिवानामा पर्नुभएको छ । उपाध्यक्ष पदका उम्मेदवार ताराप्रसाद खनाल, वसन्ती साउँद (धामी), सिर्जनादेवी बुढाले पनि जरिवाना तिर्नुपर्ने भएको छ । 

यस्तै नगरपालिकामा वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेदवारी दिएर विवरण नबुझाएका प्रत्येक व्यक्तिले दुई लाख रुपियाँ तिर्नुपर्ने भएको छ । गाउँपालिकाको वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा पदका उम्मेदवार भएर खर्च विवरण नबुझाएका प्रत्येक व्यक्तिले एकलाख पचासहजार रुपियाँ तिर्नुपर्ने भएको छ । छ महिनाभित्र उक्त जरिवाना नबुझाएमा सरकारी रकम असुलउपर गरिने भएको छ । 

स्थानीय तह निर्वाचन २०७९ मा अछाममा १३ सय १६ उम्मेदवार मध्ये २६५ जनाले समयमै निर्वाचन खर्च विवरण पेस गरेका थिए । जसमा ५४ जनाले समय अवधिपछि खर्च विवरण पेस गरेका थिए भने ९९७ जनाले विवरण नै पेस गरेका थिएन । आयोगले खर्च विवरण पेस नगरेकालाई लिखित स्पष्टीकरण सोधेकोमा आधाजतिले मात्रै स्पष्टीकरण पेस गरेका थिए । बिरामी भएको, बाहिर गएको थाहा नपाएको भनेर स्पष्टीकरण रहेको बताइएको छ । 

Author

शिवराज ढुंगाना