• १३ साउन २०८१, आइतबार

विद्युत् वितरण केन्द्रको लापरबाही

छुट नपाइने, ब्याज तिर्नुपर्ने

blog

जलेश्वर समाचारदाता 

जलेश्वर, असोज ५ गते । नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रको लापरबाहीका कारण यहाँका उपभोक्ताले छुट पनि लिन पाउँदैनन् भने महसुलमा ब्याज पनि तिर्नुपर्ने दोहोरो मर्का खेप्दै आएका छन्। केन्द्रले मिटर रिडिङ गरेर समयमै डाटा अद्यावधिक नगर्दा डिजिटल तथा इलेक्ट्रोनिक बैङ्किङ सेवाको माध्यमबाट विद्युत् महसुल तिर्ने ग्राहकले दोहरो मर्का खेप्दै आउनुपरेको हो। 

मिटर रिडिङ भएको मितिदेखि सात दिनभित्र विद्युत् महसुल तिर्दा दुई (२) प्रतिशत छुट पाउने र १५ दिनभित्र विद्युत् महसुल बुझाउँदा जरिवाना नलाग्ने नियम छ तर जलेश्वर वितरण केन्द्रका मिटर रिडरले समयमै रिडिङ गरेर लगे पनि डाटा समयमै अद्यावधिक नगर्दा यी दुवै सुविधाबाट उपभोक्ता वञ्चित हुँदै आउनु परेको स्थानीय रामप्रसाद चौधरीले गुनासो गर्नुभयो। 

अधिकांश महिनामा विद्युत् महसुलमा जरिवानाको म्याद सुरु भएपछि मात्र डाटा अद्यावधिक गर्ने गरिन्छ। जसले गर्दा विद्युत् कार्यालयको काउन्टरमा गएर विद्युत् महसुल नबुझाई डिजिटल माध्यमको भर पर्दा महिनामा पाँच देखि २५ प्रतिशतसम्म जरिवाना तिर्नु परेको चौधरीले बताउनुभयो। “डिजिटल माध्यमबाट विद्युत् भुक्तानी गर्दा काउन्टरसम्म पुग्न लाग्ने समयको बचत हुने र घर बाहिरै रहे पनि अन्य कतैबाट आफ्नो विद्युत् महसुल तिर्न सक्ने सुविधा दिनुको साटो वितरण केन्द्रले डाटा पोस्टिङमा हेलचक्राई गर्न थालेपछि हामी दोहोरो मारमा परेका छौँ,” चौधरीले भन्नुभयो, “सुविधाको नाउँमा असुविधा दिने काम तत्काल बन्द गरिनुपर्छ। समयमै डाटा पोस्टिङ नहुँदा छुट सुविधा पनि लिन पाइँदैन, उल्टो जरिवाना पनि तिर्नु परेको छ।” 

अधिकांश महिनामा अनलाइनबाटै विद्युत्को महसुल तिर्दै आउनुभएका अर्का स्थानीय शिवचन्द्र चौधरीले पनि यो समस्या महिनौँदेखि भोग्दै आउनु परेको सुनाउनुभयो। “डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न पाउने सुविधाको साटो असुविधा पो बनेको छ,” स्थानीय चौधरीले भन्नुभयो, “यो डिजिटल माध्यमको भर पर्दा जहिल्यै पनि जरिवाना नै तिर्नुपर्ने हुन्छ, यो परिपाटीको वितरण केन्द्र तत्काल अन्त्य गर्नुपर्ने माग उपभोक्ताको छ।”

विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रका सहायक प्रबन्धक इन्जिनियर वीरेन्द्रकुमार झाले आफू समक्ष यो समस्याबारे अहिलेसम्म कसैले पनि गुनासो नगरेको सुनाउनुभयो। “डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्ने उपभोक्ताको यो समस्याबारे जानकारी नै थिएन, अब तत्काल समाधानको प्रयासमा लागेको छु,” सहायक प्रबन्धक झाले भन्नुभयो “मिटर रिडिङ र पोस्टिङ गर्ने कर्मचारीलाई रिडिङ भएको डाटा पोस्टिङमा ढिलाई नगर्न निर्देशन दिइएको छ, सक्दो छिटो समस्या समाधान हुन्छ।”

यसअघि टिमले ठीक ढङले काम नगरिदिँदा वितरण केन्द्र समस्याग्रस्त रहँदै आएको सुनाउँदै झाले आफू आएपछि विद्युत्सम्बन्धी समस्या केलाएर समाधानको उपाय खोज्दै अगाडि बढेको बताउनुभयो। एक महिनाभित्रै पाँचवटा अनलाइन मिटर रिडिङ मेसिन वितरण केन्द्रमा आइपुगेपछि मिटर रिडिङ र डाटा पोस्टिङसम्बन्धी सम्पूर्ण समस्या समाधान हुने सहायक प्रबन्धक झाले बताउनुभयो।