• १३ साउन २०८१, आइतबार

जन्मकैद भएका पूर्वसांसदसहित अठतीस जना रिहा

blog

कलैया समाचारदाता 

बारा, असोज ५ गते । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएर वीरगञ्ज कारागारबाट ३८ जना कैदीबन्दी रिहा भएका छन्। ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीमध्ये ४० जनाको नाम रिहाइका लागि सिफारिस गरिएकोमा ३८ जनाको कैद मिनाहा भएको वीरगञ्ज कारागारका जेलर मदन घिमिरेले जानकारी दिनुभयो। जसमा ६ जना महिला र ३२ जना पुरुष गरी जम्मा ३८ जना रहेका छन्।

यता नेकपा (एमाले)का नेता महमुद आलमको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पूर्वसांसद रामचन्द्र कुशवाहा (प्यासी)लाई संविधान दिवसका अवसरमा आममाफी मिनाहा भएको छ। नेता आलमको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका संविधान सभा सदस्य कुशवाहा संविधान दिवसको अवसरमा सोमबार वीरगञ्ज कारागारबाट रिहा हुनुभएको छ। संविधान सभाको दोस्रो निर्वाचनको समयमा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट २०७० असोज १८ मा नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका आलमलाई उहाँकै गाउँ परवानीपुरस्थित चावोसती उद्योग अगाडि मोटरसाइकलमा आएका दुई भारतीय सुटरले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते आलमको असोज २४ गते उपचारको क्रममा काठमाडौँमा निधन भएको थियो। गोली प्रहार गर्ने दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा आलम हत्याको मुख्य योजनाकार प्यासी रहेको खुलेपछि बारा जिल्ला अदालतले महमुद आलमको ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै १० वर्ष कैदको फैसला सुनाएको थियो। 

सो फैसलामा आलमकी पत्नी नेजमा खातुनसहितले चित्त नबुझेको भन्दै अस्थायी इजलास वीरगञ्जमा अर्को मुद्दा दायर गरेपछि उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो। सो फैसलापछि जेल जीवन बिताउँदै आउनुभएका प्यासी संविधान दिवसको उपलक्ष्यमा रिहा भएको कारागारका जेलर मदन घिमिरेले जानकारी दिनुभयो। 

कैद सजायको ४० प्रतिशत भुक्तान गरेपछि कैदीबन्दीको आचरणको आधारमा कारागारले विभागमा, विभागले गृह–मन्त्रालयमा र गृह मन्त्रालयले मन्त्रिपरिषद्लाई कैद मिनाहाको लागि सिफारिस गर्छ। मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपतिको कार्यालयले हरेक वर्ष कैदीबन्दीलाई आगामी जीवन असल नागरिक भएर बिताउन कैद मिनाहा दिने प्रावधान छ।