• १३ साउन २०८१, आइतबार

डेङ्गु नियन्त्रणमा बेवास्ता

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज ५ गते । देशव्यापी डेङ्गुको सङ्क्रमण फैलिए पनि सर्लाहीमा सामान्य सतर्कतासमेत अपनाइएको छैन। यहाँका स्थानीय तहले सङ्क्रमण नियन्त्रणका लागि बेवास्ता गरेका छन्। 

स्वास्थ्य कार्यालय मलङ्गवाका अनुसार सर्लाहीमा अहिले डेङ्गुका १२ जना सङ्क्रमित छन्। भदौ लागेयता काठमाडौँबाट आएकालाई परीक्षण गर्दा १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको र उनीहरूको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय मलङ्गवाका निमित्त प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो। उहाँका अनुसार सर्लाहीमा प्रादेशिक अस्पताल मलङ्गवामा डेङ्गुको निःशुल्क परीक्षण हुन्छ। स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डेङ्गु परीक्षणका लागि बुधबार मात्रै थप किट पठाइएको जनाएको छ। सदरमुकाम मलङ्गवा निवासी सञ्चारकर्मी मनोज यादवले डेङ्गुको सङ्क्रमण व्यापक हुँदासमेत जिल्लाका पालिकाहरूले सङ्क्रमणबाट बच्न÷बचाउन सामान्य सचेतना जगाउने काम नगरेका बताउनुभयो । 

सदरमुकाम मलङ्गवासहित जिल्लाको बजार क्षेत्रमा अत्यधिक लामखुट्टे लाग्ने गरेका छन्। लामखुट्टेबाट आजित भइरहेका बेला डेङ्गु सङ्क्रमण फैलिँदा जिल्लावासी त्रसित बनेका छन्। 

अघिल्ला वर्षमा केही व्यक्तिमा डेङ्गु देखिँदा बजार क्षेत्रमा सरसफाइ गर्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका पालिकाले यो वर्ष भने सङ्क्रमण व्यापक हुँदासमेत वास्ता गरेका छैनन्। लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र खतिवडाले डेङ्गु नियन्त्रणबारे तत्काल कुनै कार्यक्रम तय नभएको जानकारी दिनुभयो। चिकित्सकले डेङ्गुको सङ्क्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न सुझाव दिएका छन्। झुलको प्रयोग गरेर सुत्न, घर वरिपरि पानी जम्न नदिन, लामखुट्टे बस्न सक्ने गमलाको पानी नियमित फेर्न, घर छेउछाउमा टायरलगायत थोत्रा सामग्री नराख्न चिकित्सकको सुझाव छ।