• १३ साउन २०८१, आइतबार

धारामा पानी नआए कालोपत्रे सडक फोड्छन् खलङ्गावासी

blog

क्याप्सनः धारामा पानि नआएपछि तुफानडाँडा क्षेत्रमा कालोपत्रे सडकमा खाल्टो बनाई खानेपानिको पाईप मर्मत गर्दै स्थानीय । तस्बिरः पुष्कर भण्डारी ।

डडेल्धुरा, असोज ५ गते । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ खलङ्गा लगायतका क्षेत्रमा मिटर धारा जडान गरेको पाँच वर्ष पुग्न लागेको छ । साढे ३१ करोड रुपियाँ लागतमा नयाँ खानेपानी योजना सम्पन्न गरिएको थियो । यसै क्षेत्रमा सडक विस्तार गरी कालोपत्रे गरेको दुई वर्ष पुग्यो । तीन करोड बढी रुपियाँ लागतमा सडक विस्तार गरी कालोपत्रे गरिएको हो । 

सडक दायाँबायाँ पाइपलाइन गाडेर खलङ्गा खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले एकघर एकधारा मिटर जडान गरी २४सै घण्टा खानेपानी वितरण गरेको छ । तर धारामा पानी नआए कालोपत्रे सडक फुटाएर पानी मर्मत गर्नु पर्ने अवस्था खानेपानी उपभोक्ता समितिको छ । 

अहिले सडक दायाँबायाँ खलङ्गा क्षेत्रमा दर्जन बढी खाल्टा परिसकेका छन् । विस्तार गरी कालोपत्रे गरिएको सडकमा खाल्टै खाल्टा बन्न थालेका छन् । खाल्टाखुल्टीले गर्दा पैदल यात्री लगायत दुईपांग्रे, चार पाङ्ग्रे गाडी ओहोर दोहोरमा समस्या हुने गरेको छ । सडक बिग्रँदै गएको छ । 

खानेपानीका पाइपलाइन बिछाइने बेला सडक साँघुरो थियो । खलङ्गा खानेपानी उपभोक्ता समितिका तत्कालीन अध्यक्ष रबिन्द्र केसीले भन्नुभयो, पछि सडक विस्तार भयो । सडक किनारमा गाडिएको पाइपलाइन सडकको नालीभन्दा भित्र सडकमा पर्‍यो । बेलाबखत उपभोक्ताहरू लाई वितरणका लागी पाइपलाइन जडान गरिएका जोडहरूमा समस्या आइरहन्छ । यी जोडहरू कालोपत्रे सडक भित्र छन् । त्यस कारण कालोपत्रे सडक फुटाएर मर्मत गर्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ तुफानडाँडा देखि अमरगढी नगरपालिका–४ को खलङ्गा सम्मको कालोपत्रे सडक र तुफानडाँडा देखि खलङ्गा सम्मकै अर्को सडकका छेउछाउमा पानी मर्मतका लागि खाल्टा थपिँदै गएका छन् । पाइपलाइन जडान गरिएका  सबै स्थानहरूमा च्यामबर नबनाइएकाले समेत अहिले सडक फुटाउनु पर्ने बाध्यता रहेको खानेपानी उपभोक्ता समिति अध्यक्ष जोगराज ऐरले बताउनुभयो ।    

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा तेस्रो साना सहरी आयोजना अन्तरगत ३१ करोड ५५ लाख ६ हजार रुपियाँ लागतमा एकघर एक धारा मिटर जडान गरिएको थियो । यो सम्झौता २०७४ पुस महिनामा भई २०७६ असारमा सम्पन्न भएको थियो । 

Author

पुष्कर भण्डारी