• १३ साउन २०८१, आइतबार

ग्यास वितरणमा ढिलाइ

blog

लीलाधर वली 

घोराही, असोज ५ गते । घोराही उपमहानगरपालिका–१६, करौंतीडाँडामा निर्माण गरिएको फोहोरबाट ग्यास उत्पादन गर्ने ग्यास प्लान्ट उद्घाटन भएको करिब छ महिना भइसक्दा पनि नागरिकले ग्यास पाउन सकेका छैनन् । “उद्घाटन भएपछि अब ग्यास पाउने आशा गरेका थियौँ तर अहिलेसम्म ग्यास पाइएन,” घोराही उपमहानगरपालिका–१६, करौंतीडाँडा निवासी खुसीराम चौधरीले भन्नुभयो, “सोध्दा छिट्टै पाउनुहुन्छ भन्नुहुन्छ तर कहिले पाउने हो, अझै निश्चित छैन ।” 

स्थानीयलाई बायो ग्यास वितरणका लागि फोलो मिटर आउन ढिलाइ हुँदा वितरण हुन नसकेको नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताउनुभयो । 

नागरिकका घरघरमा ग्यास पु-याउन पाइप आए पनि फोलो मिटर नआउँदा ग्यास वितरण हुन नसकेको उहाँले बताउनुभयो । फोलो मिटर आएपछि पाइप जडान गरेर प्रिपेड सिममार्फत उपभोक्ताको घरसम्मै ग्यास वितरण गरिने म्यानेजर श्रेष्ठले बताउनुभयो । 

“सिममा पैसा भएपछि ग्यास पाइने छ, पैसा नभएमा ग्यास पाइने छैन,” म्यानेजर श्रेष्ठले भन्नुभयो, “यसका लागि नेपाल टेलिकमसँग समेत सम्झौता भइसकेको छ ।” ग्यासको पैसा उठाउन समस्या हुने भएकाले यस्तो व्यवस्था गर्न थालिएका श्रेष्ठले बताउनुुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो ।

त्रिपक्षीय सम्झौता २०७५ मङ्सिर ५ गते सम्झौता भएको थियो । फोहोरबाट ग्यास उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रनेपाल ऊर्जा विकास कम्पनीले ६० प्रतिशत बेहोर्ने गरी प्लान्ट निर्माण गरिएको छ । 

प्लान्ट निर्माणका लागि घोराही उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको छ । प्लान्टबाट एक हजार ६०० घरधुरीलाई बायो ग्यास पु-याउने लक्ष्य लिइएको छ । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको छ ।