• १३ साउन २०८१, आइतबार

साढे छ हजार मतदाता थपिए

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, असोज ५ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा तीन लाख दस हजारभन्दा बढी मतदाता पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आगामी निर्वाचनका लागि तीन लाख १० हजार ६३ मतदाता कायम भएका छन् । 

जिल्ला निर्वाचन अधिकृत उमेश राईले गत वैशाख महिनामा भएको स्थानीय तहको निर्वाचनको तुलनामा आगामी निर्वाचनमा छ हजार ५०३ मतदाता थपिएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख तीन हजार ५६० मतदाता रहेको बताउनुभयो । १८९ मतदान केन्द्र रहेको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ७८ हजार ७७३ पुरुष, ७३ हजार ८४७ महिला र अन्य एक गरी कुल एक लाख ५२ हजार ६२१ मतदाता रहेका छन् । यस्तै दुई सय मतदान केन्द्र रहेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा ७९ हजार १७४ पुरुष, ७८ हजार २६७ महिला र एक जना अन्य गरी कुल एक लाख ५४ हजार ४४२ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचन अधिकृत राईले स्थानीय तहको निर्वाचनपछि जिल्लामा ३२ जनाको मतदाता नामावलीको त्रुटि सच्याइएको, एक हजार ३०५ जनाको दोहोरो नाम हटाइएको र एक हजार २८२ मृत्यु भएका मतदाताको सूचीबाट नामावली हटाइएको बताउनुभयो । खानीखोला गाउँपालिकामा एउटा मतदान स्थल थप गरिएको छ ।