• ११ असोज २०८१, शुक्रबार

चौध सय मतदाता थपिए

blog

सोलुखुम्बु, असोज ५ गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सोलुखुम्बुमा एक हजार चार सयभन्दा बढी मतदाता थपिएका छन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा आसन्न सङ्घ र प्रदेश सभा निर्वाचनका लागि एक हजार ४८३ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालय प्रमुख रामनारायण शाहका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ८० हजार १९ मतदाता थिए भने पछिल्लो समय निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार हाल जिल्लाको कुल मतदाताको सङ्ख्या ८१ हजार ५०२ पुगेको छ। जसमा पुरुष ४२ हजार १३३ र महिला ३९ हजार ३६९ रहेका छन्।

आठ स्थानीय तह रहेको जिल्लामा सोलुदूधकुण्ड नगरपालिकामा १९ हजार ५६३ जना, खुम्बु पासाङल्हामू गाउँपालिकामा पाँच हजार ९८७ जना, नेचासल्यान गाउँपालिकामा १० हजार ४४३ जना र महाकुलुङ गाउँपालिकामा सात हजार ८४९ जना मतदाता छन्। त्यस्तै थुलुङ दूधकोसी गाउँपालिकामा १५ हजार १०९ जना, माप्यदूधकोसी गाउँपालिकामा १० हजार ५४२ जना, लिखुपिके गाउँपालिकामा चार हजार ९४५ जना र सोताङ गाउँपालिकामा सात हजार ६४ जना मतदाता रहेको कार्यालयले जनाएको छ।