• ११ असोज २०८१, शुक्रबार

लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

blog

खोटाङ समाचारदाता 

खोटाङ, असोज ५ गते । खोटाङमा डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा खोज्दै नष्ट गर्ने अभियान सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको सहकार्यमा दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिकास्थित स्वास्थ्य शाखाले डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ। 

नगरप्रमुख तीर्थराज भट्टराई, जिल्ला अस्पतालका प्रमुख डा. नितु लामा, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंलगायत स्वास्थ्यकर्मीको उपस्थितिमा बजारभित्र लार्भा खोज्दै नष्ट गर्ने र डेङ्गुबाट बच्ने चेतना नागरिकलाई दिँदै बजार परिक्रमा गरिएको नगरका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले जानकारी दिनुभयो। यस्तै अभियान बुधबारबाट जिल्लाका सबै पालिकामा पनि सञ्चालन गरिने स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत चौलागाईंले बताउनुभयो। 

जिल्ला अस्पतालका अनुसार जिल्लामा मङ्गलबारसम्म २५ जनामा डेङ्गु सङ्क्रमण भएको छ। जसमध्ये अधिकांश दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिकाका रहेका छन्। बुधबारबाट नगरभित्र सङ्क्रमण भएका व्यक्तिको घर नजिकका लामखुट्टेको लार्भा नष्ट गर्ने र डेङ्गुबाट बच्न जनचेतना त्यस वरिपरिका नागरिकलाई दिने अभियान सुरु गरिने आचार्यको भनाइ छ।  

यसैगरी सुनसरी समाचारदाताका अनुसार इटहरी उपमहानगरपालिकाले डेङ्गु नियन्त्रण तथा रोकथामको लागि सचेतना अभियान सुरु गरेको छ। पछिल्लो समय डेङ्गुका बिरामीको चाप बढ्न थालेपछि उपमहानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो।

स्वास्थ्य कार्यालयको समन्वयमा उपमहानगरपालिकाले  मङ्गलबार इटहरी  बजार क्षेत्रमा ¥यालीसहित होटल तथा पसलका भाँडाकुँडा, थुपारिएका टायर हटाउने र खाल्टाखुल्टीमा जमेको पानि हटाएको गरेको छ।