• ११ असोज २०८१, शुक्रबार

स्थानीय सरकारलाई मजवुद बनाउनु पर्छ : प्रमुख खापुङ

blog

राधा लुइटेल 

फिदिम, असोज ४ गते । प्रदेश १ का प्रमुख परशुराम खापुङले नागरिकको घर दैलासम्म सङ्घीयताको अनुभूति गराउन स्थानीय सरकारलाई मजवुद बनाउनु पर्ने बताउनुभएको छ । नेपालको संविधानले परिकल्पना गरेका तीन तहका सरकारमध्ये नागरिकका घर दैलोसम्म प्रत्यक्ष उपस्थित हुने र आमनागरिकले भेट्न सक्ने स्थानीय सरकार भएकाले यसलाई मजवुद बनाउनुपर्ने उहाँको धारणा छ ।

पछिल्लो समय मुलुकको अर्थतन्त्र कमजोर भएको भन्ने खबरप्रति इङ्गित गर्दै खापुङले आम्दानीका स्रोतलाई मजवुद बनाउन तीन तहकै सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताउनुभयो ।

मङ्गलबार पाँचथरको सदरमुकाम फिदिम आइपुग्नु भएका उहाँले फिदिम नगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा सो धारणा राख्नुभयो । निर्माणाधीन राँके रवि छ नम्बर बुधबारे धनकुटासहित प्रदेशभर निर्माण सुरु भएर अधुरा रहेका आयोजना अगाडि बढाउन आफूले सङ्घीय सरकारसँग संवाद गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने र पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे लगायतले नगर क्षेत्र र जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार र शान्ति सुरक्षा लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।