• १३ साउन २०८१, आइतबार

कफी प्रशोधन उद्योग निर्माण

blog

गुल्मी समाचारदाता 

गुल्मी, असोज ४ गते । गुल्मीको सत्यवती गाउँपालिका, ठूलो लुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन गरिने भएको छ । कफी प्रशोधन उद्योग सञ्चालनका लागि मिश्रित कफी उत्पादक कृषक समूहलाई कफी प्रशोधन उद्योग तथा मेसिन औजार हस्तान्तरण गरिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, गुल्मीले मिश्रित कफी उत्पादक कृषक समूहलाई २३ लाख ५३ हजार ३१६ रुपियाँको कफी प्रशोधन उद्योग निर्माण गरिदिएको हो । 

परियोजनाले कफी समूहलाई छ लाख ९० हजार रुपियाँको एक थान हलर मेसिन प्रदान गरेको छ, जसमा परियोजनाको पाँच लाख ८३ हजार पाँच सय र समूहको एक लाख ३५ हजार खर्च भएको छ । 

त्यस्तै परियोजना र समूहको ७० हजार लगानीमा कफी पल्पर मेसिन खरिद गरिएको छ । प्लास्टिक पाउच सिल प्याक मेसिन खरिद गरिएको छ । ठूलो लुम्पेकमा २०५८ सालदेखि कफी खेती सुरु भएको हो । व्यक्तिगत रूपमा कफी खेती हुँदै आएकामा अहिले समूहमार्फत व्यावसायिक बन्दै जान थालेको छ । गाउँमा करिब डेढ सय रोपनी क्षेत्रफलमा १५ हजार कफीका बिरुवा रोपिएका छन् । केहीले उत्पादन दिन थालेको अगुवा कृषक नरमाया रानाले बताउनुभयो ।