• ११ असोज २०८१, शुक्रबार

गठबन्धनका उम्मेदवारबारे एक सातामा टुङ्गिन्छ : पूर्वप्रम खनाल

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), भदौ ३० गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झालनाथ खनालले अबको एक साता भित्र पाँच दलीय गठबन्धनका उम्मेदवारबारे टुङ्गो लाग्ने बताउनुभएको छ । 

इलामको सूर्योदय नगरपालिकामा विभिन्न योजनाको शिलान्यास गर्दै पूर्वप्रधानमन्त्री खनालले आसन्न सङ्घ र प्रदेशको निर्वाचनका लागि पाँच दलीय गठबन्धनका लागि दलहरुबीच सहमति भइसकेकाले एक साता भित्रमा टुङ्गो लाग्ने बताउनुभएको हो । 

उहाँले गठबन्धनको ७० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै दलका शीर्ष नेताबीच बैठक बसेर अन्तिम निष्कर्षमा पुर्‍याइने जानकारी दिनुभयो । नेता खनालले भन्नुभयो, ‘दलहरुबीचमा सहमति भइसकेको छ, अब सिट बाँडफाँटको निर्णय भइसक्दा गठबन्धनको टुङ्गो लाग्छ ।’

नेता खनालले देशलाई निकास दिन गणतान्त्रिक शक्तिहरुबीच तालमेलको आवश्यकता रहेको बताउनुभयो । ‘एकातिर गणतान्त्रिक शक्तिहरूको तालमेल हुन्छ भने अर्कोतर्फ राजावादीहरूको तालमेल हुन्छ ।’ नेता खनालले भन्नुभयो । 

नेता खनालले देशलाई निकास दिन विगतमा वाम एकता गरे पनि केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई तहसनहस पारेको आरोप लगाउनुभयो । 

नेता खनालले बन्द सूचीको काम सकिएपछि तालमेलको निर्णय गर्ने जानकारी समेत दिनुभयो । उहाँले वर्तमान सरकारले जनहितमा काम गरिरहेको बताउँदै गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउन सम्बद्ध पक्षसँग उहाँले आग्रह समेत गर्नुभयो ।