• १३ साउन २०८१, आइतबार

यो वर्ष घट्यो आत्महत्या दर

blog

काठमाडौं, भदौ २३ गते । आत्महत्याबाट ज्यान गुमाउने सङ्ख्या गत आर्थिक वर्ष भन्दा ४.३५ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा छ हजार ८३० जना व्यक्तिको आत्महत्याबाट मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७७/७८ मा सात हजार १४१ जनाले आत्महत्या गरेका थिए। जुन गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा ४.३५ प्रतिशत घटेको हो।  

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्यक्रम गर्दै तथ्याङ्क सार्वजनिक गरेको हो। आत्महत्या मृत्युको प्रमुख कारणमध्ये १५ नम्बरमा पर्छ। महाशाखाका नसर्ने रोग तथा मानसिक रोगका शाखा प्रमुख डा.फणीन्द्रप्रसाद बरालले आत्महत्या दर घट्यो भन्दैमा खुसी हुने अवस्था नरहेको बताउनुभयो। 

उहाँका अनुसार नेपालमा हरेक दिन सरदर १९/२० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशतले आत्महत्याको सोच बनाउने गर्दछन्। १५ देखि २५ वर्ष उमेर समूहका मानिसले बढी आत्महत्या गर्ने गर्दछन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष अन्दाजी सात लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ। विश्वमा ४० सेकेण्डमा एक जनाको आत्महत्याबाट मृत्यु हुन्छ।

८३.३९ प्रतिशतले झुन्डिएर आत्महत्या

आर्थिक वर्ष २०७८/७९ मा छ हजार ८३० जनाको आत्महत्याबाट मृत्यु भयो। जसमध्ये ८३.३९ प्रतिशतले झुन्डिएर आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार आत्महत्या गरेका मध्ये ५६ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र चार प्रतिशत किशोर र सात प्रतिशत किशोरी रहेका छन्। 

१५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको चिकित्सकको भनाइ छ। आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्या बन्दै गएको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन्। 

प्रदेशगत रूपमा आत्महत्याको तथ्याङ्क

प्रदेश अनुसार सबै भन्दा बढी प्रदेश १, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा आत्महत्याका घटना भएका छन्। प्रदेश १ मा १४ सय ९१, मधेस प्रदेशमा एक हजार २०, बागमती प्रदेशमा १४ सय ४२, लुम्बिनी प्रदेशमा १३ सय ५ गण्डकी प्रदेशमा ६९८ कर्णाली प्रदेशमा २९१ र सुदूरपश्चिम प्रदेशमा ५८३ जनाले आत्महत्या गरेका छन्। 

१० वर्षमा ५३ हजारको आत्महत्याबाट मृत्यु

नेपाल प्रहरीको तथ्याङ्क अनुसार १० वर्षमा ५३ हजार २९८ जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०६९/७० मा ३९ सय ७४, आर्थिक वर्ष २०७०÷७१ मा ४५ सय चार, आर्थिक वर्ष २०७१/७२ मा ४३ सय ३२ जनाले आत्महत्या गरेका थिए। 

त्यसैगरी, आर्थिक वर्ष २०७२/७३ मा ४६ सय ८०, आर्थिक वर्ष २०७३/७४ मा ५१ सय २४, आर्थिक वर्ष २०७४/७५ मा ५३ सय १७, आर्थिक वर्ष २०७५÷७६ मा  ५७ सय ५४ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७६/७७ मा ६२ सय ७९, आर्थिक वर्ष २०७७÷७८ मा ७१ सय ४१ जना र आर्थिक वर्ष २०७८/७९ मा  ६८ सय ३० जनाले आत्महत्या गरेको तथ्याङ्क छ। 

नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्यमा समेत सन् २०१५ देखि २०३० सम्ममा प्रति एक लाख जनसङ्ख्यामा आत्महत्याको दरलाई १६.५ बाटा घटाएर ४.७ मा ल्याउने लक्ष्य राखे पनि अहिले आत्महत्याको दर एक लाख जनसङ्ख्यामा २३.४ प्रतिशत रहेको छ। “आशा जगाऔँ, जीवन बचाऔँ”भन्ने नाराका साथ १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाइने छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।