• २८ भदौ २०८२, शनिबार

बाँके कारागारबाट भागेका ४७ बालबन्दी र कैदी पक्राउ

blog

बाँकेको डुडुवास्थित जयन्दु बाल सुधार गृह । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ २८ गते । बाँकेको दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४२ जना बालबन्दी र कैदीहरूमध्ये हालसम्म ४७ जना पक्राउ परेका छन् । २९५ जना अझै पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बालसुधार गृहबाट भागेका १९५ जना बालबन्दीमध्ये ३४ जना पक्राउ परेको तथा नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १४७ जना कैदीमध्ये १३ जना पक्राउ परेको बालसुधार गृह र कारागारका अधिकारीहरूले जनाएका छन् । 

डुडुवास्थित जयन्दु बालसुधार गहृका प्रमुख किशोर शर्माले जेनजी आन्दोलनको बेला सुधारगृहमा रहेका २२८ जना बालबन्दीमध्ये ११५ जना भागेको २१ जना पक्राउ परेको र ९४ जनाको खोजी भइरहेको बताउनुभयो । 

फरार रहेकालाई बालसुधार गृहमा फर्किन अनुरोध गरिएको प्रमुख शर्माले बताउनुभयो । सोही प्रकारले नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७२ जना बालबन्दीमध्ये ८० जना भागेकोमा १३ जना पक्राउ परेको बताउनुभयो । 

पाँच जना बाँकेबाट र आठ जना दाङबाट पक्राउ परेको रानाले बताउनुभयो । सो सुधारगृहका ६५ जना बालबन्दीको खोजीकार्य भइरहेको छ । यसैगरी नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका १४७ जना कैदीमध्ये १३ जना पक्राउ परेको तथा १३४ जनाको खोजी भइरहेको क्षेत्रीय कारागारका प्रमुख जालन्धर भुषालले बताउनुभयो । सो कारागारमा ५८५ जना कैदीहरू थिए । 

पक्राउ परेका ४७ जनामध्ये केही आफै फर्किएको र अधिकांशलाई खोज तलाशका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अझै पनि फरार रहेको २९५ जना बालबन्दी र कैदीलाई फर्किन अनुरोध गरिएको जनाउँदै नफर्किए खोजतलाश गरी पक्राउ गरिने चेतावनी दिइएको छ । 

जिल्लाको विभिन्न बालसुधार गृह र कारागारबाट कैदीबन्दी भागेपछि अहिले ती सबै ठाउँमा नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ । जेनजी आन्दोलनको समयमा देशभरिका विभिन्न बाल सुधारगृह र कारागारबाट कैदी बन्दीहरू भागेका थिए ।