• ७ मंसिर २०८१, शुक्रबार

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ : उपप्रमुख डङ्गोल

blog

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ २२ गते । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार इन्द्र ध्वजोत्थानसहित विधिवत् इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उपप्रमुख डङ्गोलले सो धारणा व्यक्त गर्नुभएको हो ।

उपप्रमुख डङ्गोलले भन्नुभयो,‘‘यो जात्राको महत्त्व विविधतायुक्त छ । आजबाट विधिवत् इन्द्रजात्रा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो ।’’


उपप्रमुख डङ्गोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्नुहुँदै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताउनुभयो ।

इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई बोलाइसकेको उल्लेख गर्नुहुँदै बिहीबार अतिथिहरू आउने क्रम जारी रहनेछ । कोरोना सङ्क्रमण पुनः बढ्न थालेकाले महानगरले बोलाएका पाहुनाहरूमा कमी हुनसक्ने उहाँको भनाइ छ ।

‘‘हामीले भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई बोलाएका छौँ । भोलिबाट अतिथिहरू आउने क्रम रहनेछ । कोरोनाको केसहरू बढेका कारण हामीले अपेक्षा गरेको भन्दा कम अतिथि आउनुहुनेछ,’’ उहाँले भन्नुभयो ।

उपप्रमुख डङ्गोलले बोलाउनुभएका पाहुनाहरू र देशवासीहरूसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताउनुभयो ।

इन्द्रध्वजोत्थनमा सहभागी स्थानीयहरूले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने बताए । उनीहरूका अनुसार इन्द्रजात्रामा इन्द्रजात्राका महत्त्वहरू उजागर गर्ने योजना रहेको पनि बताए ।

इन्द्रजात्राको लिङ्गो मानन्धर समुदायले उठाउने गर्छ । १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित मठ, मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गमस्थल हो ।

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्र ध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाइने कतिपय प्रचलन छ ।

त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको भन्ने भनाइ छ । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागेको र त्रिदेवसहित सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरेको साथै इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनिएको उल्लेख पाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलान्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिङ्गो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरु हुन्छ ।