• १० साउन २०८२, शनिबार

सडकका कारण घटे पर्यटक

blog

चितवन समाचारदाता

चितवन, साउन ९ गते । पर्यटकीयनगरी सौराहा अहिले सुनसान जस्तै छ । पर्यटक कम आउन थालेपछि यहाँका व्यवसायीले छुटका कार्यक्रम ल्याएका छन् । 

क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले अहिले सौराहा क्षेत्रका होटेल १० प्रतिशत पनि बुक नभएको बताउनुभयो । यो सिजन पर्यटकीय गतिविधिले अफ हो तर पनि यसरी पर्यटक घटेको अवस्था धेरैपछि हो । भारतीय पर्यटक आउने समय भए पनि बुटवल नारायणगढ सडकखण्डको अवस्था नाजुक भएका कारण सौराहामा त्यसको असर परेको अध्यक्ष पाण्डेले बताउनुभयो । 

सौराहा, भैरहवा, भरतपुर, पोखरा, काठमाडौँलगायतका स्थानमा होटेल व्यवसाय गर्दै आउनुभएका पाण्डेले चितवनबाहेकको स्थानमा पर्यटक भए पनि यहाँ भने ज्यानै न्यून भएको बताउनुभयो । “अन्य स्थानमा यसरी बुक हुनै समस्या हुने अवस्था छैन तर अहिले सौराहामा सुनसान झैँ छ,” उहाँले भन्नुभयो । 

पर्यटक आउन छाडेपछि क्षेत्रीय होटेल सङ्घ सौराहाका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी सुमन घिमिरेले होटेलको कोठा ५० प्रतिशत छुट दिएर बुक गर्न सकिने अफर ल्याएको जानकारी दिनुभयो । साउनभर बुक गरेमा चैतसम्म कुनै पनि समयमा आएर बस्न पाइने व्यवस्था रहेको उहाँले बताउनुभयो । उहाँले मात्र नभएर सौराहा, मेघौली, पटिहानी, जगतपुर, त्रिशूली नदी किनारका होटेल तथा रिसोर्टले पनि छुटको अफर ल्याएको पर्यटन व्यवसायी पाण्डेले बताउनुभयो । 

पोखरा–मुग्लिङ, मुग्लिङ–काठमाडौँ र नारायणगढ–बुटवलको बाटोमा समस्या आएका कारण पर्यटक सौराहा आउन नसकेको उहाँले बताउनुभयो । भर्खरै मात्र पोखरा–मुग्लिङको बाटो सहज भए पनि गएको एक वर्ष तीन वटै क्षेत्रको राजमार्ग राम्रो नभएका कारण पर्यटक आएका छैनन् । 

निकुञ्ज घुम्ने घटे

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश मगरले गत आर्थिक वर्षमा निकुञ्ज घुम्ने पर्यटक घटेको जानकारी दिनुभयो । चितवनसम्म आउनका लागि राजमार्गको समस्याकै कारण पर्यटक घटेको हुन सक्ने पर्यटनविज्ञ डा. विश्व सुवेदीले बताउनुभयो । 

निकुञ्जका सूचना अधिकारी थापामगरले आव २०८०/८१ मा तीन लाख छ हजार ८३७ जना पर्यटकले निकुञ्ज घुमेका थिए । गत आवमा जम्मा दुई लाख ३१ हजार ३२९ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । तथ्याङ्क अनुसार अघिल्लो आवभन्दा गत आवमा ७५ हजार पाँच सय आठ जना पर्यटक कमी भएको हो । गत आवमा एक लाख १७ हजार २०६ छ जना आन्तरिक पर्यटक रहेका छन् । 

सार्क राष्ट्रका २४ हजार आठ सय र सार्कबाहेकका देशबाट ८९ हजार ३२३ जनाले निकुञ्ज घुमेका छन् ।