• १० साउन २०८२, शनिबार

विपद् उद्धारका लागि मजुवामा सशस्त्रको वेश

blog

चन्द्रकोट गाउँपालिका–८ मजुवामा स्थापना भएको सशस्त्र प्रहरीको वेश । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, साउन ९ गते ।
गुल्मीको मजुवामा विपद् उद्धारका लागि सशस्त्र प्रहरीको वेश स्थापना गरिएको छ । बर्सात सुरु भएसँगै हुनेसक्ने बाढी र पहिरोमा तत्काल उद्धार गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिका–८ मजुवाको मानका टिकाराम बहुमुखी क्याम्पसमा वेश स्थापना गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निर्देशनमा सशस्त्र प्रहरी बल ३७ नं गुल्म, गुल्मीद्वारा मनसुन प्रतिकार्य वेश स्थापना गरिएको हो ।

अहिले सशस्त्र प्रहरी नायब निरीक्षक टोपबहादुर कुमालको कमाण्डमा २० जनाको टोरी वेशमा खटिएको सशस्त्र प्रहरी वल ३७ नं गुल्म, गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पवन कुमार खड्काले जानकारी दिनुभयो ।

सशस्त्रको वेशमा विपद् व्यावस्थापन सम्बन्धी तालिम प्राप्त जनशक्ति परिचालन गरिएको खड्काले बताउनुभयो । उहाँले गोताखोरकै लागि जनशक्ति तत्काल आवश्यक परेको सशस्त्रको ५ नं बिध्याबाहिनी मुख्यालयले पठाउने गरेर समन्वय भएको बताउनुभयो ।

सदरमुकामबाट टाढा रहेको क्षेत्र नं १ का बस्तीहरुमा हुने विपद्लाई केन्द्रमा राखेर वेश स्थापना गरिएको हो । बडिगाड खोलाले खेत कटान गर्दै आएको छ । भने झेदी, भुवाचिदी, सोता, मजुवा, उल्लीखोला, चोरकाटे, खैरेनी लगायतका बजारहरु डुवानको जोखिममा छन् । भने दुई जिल्ला जोड्ने रिडी–रुद्रवेणी–वामी मुख्य सडकखण्डसहित शाखा सडकहरु पहिरोका कारण अवरुद्ध हुने गरेका छन् ।

पहिरोको उच्च जोखिममा रहेका मुसिकोट, गुल्मीदरवार, छत्रकोट, रुरु, सत्यवति, चन्द्रकोट लगायतका बडिगाड खोला किनारमा तत्काल उद्धारको लागि सशस्त्रको वेश उपयुक्त देखिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । उहाँले अहिले पनि आफ्नो टोलीले कार्यक्षेत्रमा अवरुद्ध सडक सञ्चालनका लागि रातदिन काम गरिरहेको बताउनुभयो ।

गुल्मीको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सय बढि ठाउँ बाढी र पहिरोको जोखिममा रहेका छन् । अहिलेको वर्षातमा २२ हजार नागरिक प्रभावित हुने अनुमान जिल्ला विपद् व्यावस्थापन समिति गुल्मीको रहेको छ । विसं. २०६४ र २०८१ म गरेर मुसिकोटमा पहिरोबाट १० जनाले ज्यान गुमाएका थिए । मुसिकोटमा ५० बढि स्थान बाढी र पहिरोको जोखिममा छन् । मालिकाका छल्दीखोला, घमिर खोला, निस्ती र दुनाम खोला किनार बाढीको जोखिममा छन् भने नेटा, म्याला, जुकेना र आठमिरे लगायतका स्थान पहिरोको उच्च जोखिममा रहेका छन् ।

गत वर्ष पहिरोले मालिकाका एकै परिवारका पाँच जनाको ज्यान गएको थियो । विभिन्न वडामा करिव एक सय घर परिवार बिस्थापित भएका थिए । सत्यवति गाउँपालिकामा मुख्य नौ स्थान बाढी र पहिरोको जोखिममा रहेका छन् ।

सत्यवति गाउँपालिकाले २०७६ सालमा पहिरोबाट १३ जनाको ज्यान गएको थियो । तत्कालिन समयमा तीन सयभन्दा बढि परिवार विस्थापित भएका थिए । बेलाबखतमा पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति भए पनि सरकाले जोखिम न्यूनीकरणका लागि ठोस योजना कार्यान्वयन गर्न सकिरहेको छैन । जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले तत्काल सडक सञ्चालन, बाढि र पहिरोको जोखिम स्थान पहिचान र सतर्कतासहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रको टोलीलाई तैनाथी अवस्थामा राख्ने काम भइरहेको बताउनुभयो ।