• १० साउन २०८२, शनिबार

बौद्धिक जनशक्ति पलायन प्रभाव

blog

विद्यार्थीको विद्यालय शिक्षाको शैक्षिक यात्रा पूरा भएपछि उच्च शिक्षा पढ्ने योजना हुन्छ । उच्च शिक्षा हासिल गर्न विद्यार्थीले त्यही अनुसारको योजना बनाउँछ । अनि नयाँ मार्ग तय गर्छ । कति विद्यार्थीले उच्च शिक्षा पढ्न विदेश जाने सपना पनि बुनेकै हन्छन् । त्यही सपना साकर पार्न विदेशको शैक्षिक यात्रा तय गरिएको हुन्छ । ब्रेन ड्रेनको शुभारम्भ पनि यसै गरी भएको हो । 

पछिल्लो केही दशकदेखि ब्रेन ड्रेन तीव्र गतिमा अगाडि बढेको छ । विभिन्न विद्वान्ले ब्रेन ड्रेनलाई ‘पुस्’ र ‘पुल फ्याकटर’ को सिद्धान्त भनेका छन् । विद्यार्थीले सामाजिक तथा सांस्कृतिक परिवेशबाट मान तथा प्रतिष्ठाको आकार र शैक्षिक ज्ञानको आयाम बढाउने सपना देखेको हुन्छ । त्यही अनुकूलको शैक्षिक वातावरण निर्माण गर्न चाहन्छ । एउटा अब्बल विद्यार्थी जब आफ्नो शैक्षिक भविष्यको चिन्तन गर्न खोज्छ, त्यसपछि उसले अनेकौँ बाटो खोजिरहेको हुन्छ । अभिभावकको पनि त्यत्तिकै सहयोग र चासो हुन्छ । मुख्य प्रश्न ती सबै अब्बल विद्यार्थी आफ्नो देशमा फर्किन्छन् कि फर्किंदैन ? फर्किहाले पनि उसले आफ्नो योग्यता र क्षमता अनुसारको रोजगारको अवसर पाउँछ कि पाउँदैन ? राज्यले उनीहरूलाई ज्ञानको ज्योति फैलाउने अवसर दिन्छ कि दिँदैन ? यस्तै यावत् प्रश्न प्रत्येक विद्यार्थीका मानसपटलमा खेलिरहेका हुन्छन् । यसैको परिणाममा ब्रेन ड्रेनले प्रश्रय पाउन थालेको हो । 

धेरै जसो अभिभावक आफ्नो छोराछोरीलाई विदेशी गएर शिक्षा हासिल गर्न प्रेरित गरिरहेका हुन्छन् । कतिपय रहरले भने कतिपय देखासिकीका लागि आफ्नो छोराछोरी विदेश पठाउन चाहन्छन् । कतिपय अभिभावकमा पनि आफ्नो छोराछोरी विदेशी भूमिमा पुगेकोमा गर्वको महसुस भएका हुन्छ । विद्यार्थीले विदेशी भूमि गएर उच्च शिक्षा हासिल गर्दा दुई किसिमका फाइदा हुने भाष्य अभिभावकले सिर्जना गरेको हुन्छ । पहिलो शैक्षिक डिग्री प्राप्ति र दोस्रो विदेशी मुद्रा आर्जन । सामाजिक सञ्जालमा दिनहुँ जसो देखिन्छ–आगामी दिनको शैक्षिक यात्रा सफल रहोस्, बधाई छ, शुभ यात्रा, सुरक्षित यात्रा रहोस् । यसो भनिरहँदा मुहारमा न खुसी देखिन्छ न त दुःख नै । कतिपयमा हर्ष र पीडाका आँसु पनि देखिन्छ । 

 विसं २०८१ मा नेपालको एक मात्र ठुलो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न भएको थियो । समारोहलाई गर्वका साथ सुनौलो दीक्षान्त समारोह पनि भनिएको थियो । यस विश्वविद्यालयबाट लगभग ७४ हजार विद्यार्थी दीक्षित भएका थिए । १४ हजार विद्यार्थीले प्रमाणपत्र प्राप्त गरे । यो इतिहासको पहिलो अभिलेख मान्न सकिन्छ । सर्वोत्कृष्ट विद्यार्थी विभिन्न पदक पुरस्कारबाट पनि विभूषित भए । बाँकी लगभग ६० हजार दीक्षित विद्यार्थी जसले दीक्षान्तमा सहभागिता जनाएनन् । उनीहरू कहाँ छन् भन्ने प्रश्न पनि पक्कै आउला । हुन त गएको वर्ष मात्र एक लाखभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेका थिए । यी ६० हजार दीक्षित विद्यार्थीले पनि ‘नो अब्जेकसन लेटर’ लिएका छैनन् भन्न सकिन्न । त्यसै गरी उत्कृष्ट विद्यार्थीमध्ये स्नातक र स्नातकोतर तह उत्तीर्ण विद्यार्थी पनि यही एनओसी लेटर बुझेर विदेश यात्रामा नगएका होइनन् होला । बाँकी १४ हजार विद्यार्थीको चाहना के होला भन्ने सबैले बुझेकै कुरा हो । आगामी शैक्षिक सत्रका लागि कति जना विद्यार्थी आफ्नै भूमिमा अध्ययन गर्दै आएका छन् भन्ने तथ्याङ्क पाउन मुस्किल छ । 

दीक्षान्तमा उत्कृष्ट नतिजा ल्याएको घोषणा गरिएका विद्यार्थीको भनाइ पनि विदेशको डिग्रीप्रति उत्साह र चाहना बढी भएको उनीहरूको प्रतिक्रियाबाट स्पष्ट हुन्थ्यो । उनीहरूको भनाइ थियो, 

‘आफ्नो देशमा योग्यता अनुसारको अवसर खोजिन्छ । त्यो अवसर मिलेन भने सधैँका लागि विदेश जाने हो ।’ कतिपय विद्यार्थीको प्रतिक्रिया देशले अवसर दियो भने घर छोडेर विदेशी भूमिमा जान्छ र भन्ने थियो । 

एक जना गोल्डमेडलधारी प्राध्यापकको भनाइ थियो, मेरो समयमा गोल्ड मेडल तथा उत्कृष्ट अङ्क ल्याएर सफल हुने विद्यार्थी नै त्यस विश्वविद्यालयको प्राध्यापनमा पहिलो प्राथमिकतामा पर्दथ्यो । अवसर पनि पाउँथ्यो । विश्वविद्यालयले आफ्नै ग्य्राजुयट विद्यार्थीलाई अवसर दिने हो भने ब्रेन ड्रेनको सङ्ख्या घटाउन मद्दत पुग्ने थियो ।’ यो कुरा विश्वविद्यालयले सोचेका छैनन् होला र ? तर सोचेका छन् भने नि ‘म्यारिटेक्रेसी’ को मूल्य हुँदैन ? हो, विश्वविद्यालयले आफ्नो विद्यार्थीमा लगानी पनि गरैकै हुन्छ । ग्य्राजुयट गरी सकेपछि त्यही विश्वविद्यालयमा अध्यापन गराउन पाउनु खुसीको  विषय हो ।

केही समयअगाडि एक जना त्रिभुवन विश्वविश्वविद्यालयको उच्च पदाधिकारीको भनाइ थियो, “अब १० वर्षपछि हाम्रो देशमा उच्च शिक्षाका लागि सक्षम तथा इमानदार शिक्षकको अभाव हुने छ, लेखेर राख्नुस् ।” ती पदाधिकारीको भनाइ साँच्चिकै व्यवहारमा रूपान्तरण भएकै हो त ? ब्रेन ड्रेनको शैक्षिक परिभाषा सिपयुक्त तथा विद्वान् वर्ग बिदेसिनु अथवा कम विकसित मुलुकबाट विकसित मुलुकमा स्थानातरण हुनु हो । ब्रेन ड्रेनको सामाजिक परिभाषा अलि फरक खालको छ । आफ्नो परिवारबाट पनि कोही विदेश गएको छ भने गर्वको महसुस गरी अरूसँग कुरा गर्दा पनि आफ्नो विदेशमा पढिरहेको अथवा काम गरिरहेको सन्तानको बढी चर्चा गर्ने गरिन्छ । खासमा समाज तथा परिवारलाई केही समयका लागि गर्व महसुस पक्कै हुन्छ तर जब आमाबाको उमेर बढ्दै जान्छ, अनि शारीरिक सन्तुलन कमजोर हुँदै जान्छ, त्यसबेला पक्कै पनि साथको जरुरत पर्छ । अनि आफ्नो नजिकै कोही सहारा भइदिए हुन्थ्यो जस्तो हुन्छ । अहिले विदेश पठाउँदाको खुसीको पारो त्यतिबेला एक्कासि तल झर्छ ।

गत वर्ष मात्र नेपाल सरकारको शिक्षा मन्त्रालबाट एओसी लेटर झन्डै एक लाख  २० हजारको हाराहारीमा इस्यु भएको देखिन्छ । यो तथ्याङ्कबाट सजिलै आकलन गर्न सकिन्छ– ब्रेन ड्रेनको प्रमुख कारण अब सो विद्यार्थी आफ्नो अध्ययनपश्चात् आफ्नो मुलुकमा फर्किन कति सम्भव छ ? सबै फर्किए भने मुलुकले धान्न सक्ला ? यस्तो चासो र चिन्तन पटक्कै छैन । 

ब्रेन ड्रेनबारे विभिन्न खोज अनुसन्धान भएका होलान् तर नेपालमा राजनीतिक अस्थिरता नै मुख्य कारण हो । राजनीतिबाट हरेक क्षेत्रले आशा, भरोसा र विश्वास गरेको हुन्छ । अर्को कारण योग्यता अनुसार रोजगारीको अवसर पाउन कठिन छ । विभिन्न संस्थामा आआफ्नो परिपाटी स्थापित भएकाले योग्यताको कदर हुँदैन । योग्यता अनुसारको अवसर प्राप्त भए पनि विभेदको सिकार बन्नुपर्ने अवस्था छ । त्यसैले पढेको मान्छेले विदेशको यात्राको खोजी गर्छ ।  

सकारात्मक पक्ष पनि नभएको होइन । डायस्पोराको ज्ञान र सिपलाई परिचालित गर्दै जानु आवश्यक हुन्छ । यही ज्ञान सिपको आधारलाई अवलम्बन गर्दै विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षाका अन्य संस्थालाई परिवर्तनको बाटो लैजाने हो भने पढेलेखेको मान्छे स्वदेशमै स्थापित हुन सक्छ । केही महिनाअघि त्रिविका पदाधिकारीले फास्ट ट्र्याकबाट केही प्राध्यापकको आवेदन तथा अन्य प्रक्रियाको सम्बोधन गर्दै नियुक्तिको नयाँ प्रक्रिया अघि बढाएको सर्वविदितै छ । यस विषयमा पनि ठुलो बहस हुँदै आएको छ । यसका केही सकारात्मक र केही नकारात्मक पक्ष पनि होलान् । यही विषयलाई गहिरिएर अध्ययन गर्ने हो यस्तो प्रक्रियाले केही हदसम्म विद्यावारिधि गर्न विदेश गएकालाई अध्ययनपछि आफ्नै मुलुकमा फर्कन बाटो प्रशस्त गर्छ ।  

एक जना पूर्वउपकुलपतिले भन्नुभएको थियो, “हाम्रा केही प्राध्यापक अध्ययन बिदामा विदेशमा विद्यावारिधि गर्न जानु हुन्छ तर उतै राम्रो अवसर पाएकाले वा अन्य कारण आफ्नो मुलुकमा आएर सेवा गर्न असमर्थ हुनुहुन्छ । केही नियम सार्वजनिक पनि हँुदै छन् । केही नीतिगत नियम पक्कै पनि निर्माण भएको होला तर ती नियम कति जनाले पालन गर्नु भएको छ अथवा छैन, यो विषय पनि गम्भीर हो । अब यस विषयमा पनि खोज अनुसन्धान थाल्नु पर्छ ।”