राममणि दाहाल
मकवानपुर, साउन ९ गते । बागमती प्रदेश सरकारका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रबार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा दिनुभएको हो ।
ठकुरी, श्रेष्ठ र महर्जनले आफूहरुले मन्त्री पदबाट राजीनामा दिएको पुष्टि गर्नुभयो ।
चार जना मन्त्रीले पदबाट राजीनामा दिएको सार्वजनिक भएको छ । तर आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानले भने आफूले मुख्यमन्त्रीसँग भेट गरेपछि मात्र टुङ्गो लाग्ने बताउनुभयो । मुख्यमन्त्रीसँग भेट भएको छैन, म रामेछापबाट कार्यक्रमबाट फर्कदै छु, मन्त्री लामिछानेले भन्नुभयो, राजीनामा दिएको खबर आए छ, मुख्यमन्त्रीलाई भेटेर कुरा गरेपछि मात्र राजीनामाको बारेमा अन्तिम टुङ्गो लाग्छ ।
विविध कारणले निरन्तर आफ्नो जिम्मेवारी वहन गर्न सक्ने अवस्था नरहेको भन्दै आजैको मितिबाट लागू हुने गरी राजीनामा दिएको मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष दिएको राजीनामा पत्रमा उल्लेख छ ।
मन्त्रीहरुको राजीनामासँगै कांग्रेस संसदीय दलको नेताबाट लामालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गर्नेसमेत तयारी गरिएको छ । एक वर्षअघि कांग्रेसका लामाको नेतृत्वमा नेकपा एमालेसहितका गठबन्धनको सरकार बनेको थियो ।