नवराज कट्टेल
विराटनगर, साउन १० गते । एकै व्यक्तिले फरक फरक व्यावसायिक फर्मबाट एकै स्थानको स्टक देखाएर बैङ्कबाट कर्जा लिएर भुक्तानी नगरेपछि विराटनगर–७ स्थित मेगाटेक सोलुसन प्रालि रहेको कार्यालय तथा यससँग सम्बन्धित गोदाममा ताला लगाउन बैङ्कको होडबाजी चलेको छ ।
कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको बिक्री गर्दै आएको मेगाटेक सोलुसन प्रालि विराटनगरका आशिष धनावत सञ्चालक रहेको व्यावसायिक फर्महरूमा बैङ्कले ताला लगाएका हुन् ।
विराटनगर–७, मेनरोडस्थित मेगाटेक सोलुसन प्रालिको पसल र यसको गोदाममा नबिल बैङ्कले गत बुधबार शिलबन्दी गरेको थियो । व्यवसायी धनावत परिवारले सञ्चालन गरेको विराटनगर–७ स्थित मेगाटेक, विराटनगर ३ स्थित एचडी ट्रेडिङ कन्सर्नमा नबिलले सिलबन्दी गरेको थियो ।
यसै गरी ग्लोबल आइएमई बैङ्कले विराटनगर–७ मा रहेको मेगाटेकमै एसियन अल्ट्रा इनर्जी प्रालिका नाममा अर्को सिलबन्दी शुक्रबार गरेको छ । विभिन्न फर्म दर्ता गरेर बैङ्कलाई एउटै स्टक देखाएर ऋण लिएको पाइएपछि तालाबन्दी गरिएको हो ।
नबिल बैङ्कले जारी गरेको प्रेस नोटमा मेगाटेक सोलुसन प्रालिले मौज्दात तथा अन्य सरसामग्रीसमेत ऋण उपभोग गर्दा बैङ्कका नाममा हाइपोथिकेसन तथा सुरक्षण लेखिदिएकोमा सम्बन्धित ऋण नतिरी कर्जाको सर्त बन्देजको उल्लङ्घन, बर्खिलाप गरेको उल्लेख छ । कर्जा खराब भएपछि ऋणीद्वारा चालु सम्पत्तिलाई हाइपोथिकेसन गरिन्छ । बैङ्कमा व्यवसायीले हाइपोथिकेसन सम्झौता गर्नु वास्तविक सुरक्षण नभएर कागजी सुरक्षण मात्रै मानिन्छ । बैङ्कले व्यक्ति तथा व्यवसायको गुडविल हेरेर मात्रै यस्तो कर्जा प्रवाह गर्न सहमत हुनुपर्ने हुन्छ ।
मेगाटेक सोलुसन प्रालिका सञ्चालक आशिष धनावतसहित श्रीमती परिधि अग्रवाल, बहिनी यशोदा धनावतसमेतका नाममा रहेको जग्गासमेत नबिलमा धितो राखेर ऋण लिइएको पाइएको छ । यसै गरी विराटनगर–२ मा रहेको श्रीहरि फुड्स प्रालिमा समेत नबिलले सिलबन्दी गरिदिएको छ ।
नबिल बैङ्कमा मेगाटेक, एचडी. ट्रेडिङ कन्सर्न र श्रीहरि फुड्स प्रालिको संयुक्त धितोका रूपमा जग्गा राखिएको छ । जसमा परिधि अग्रवालका नाममा रहेको मोरङ बबियाबिर्तामा रहेको कित्ता नम्बर ७०, २९९, ६९, २८२ र २८३ को क्षेत्रफल क्रमशः १–९–५–०, ०–१–०–०, ०–५–५–०, र १–६–५–० जग्गा रहेको छ ।
बैङ्कले चालु सम्पत्ति (मौज्दात तथा उधारो बिक्री) का आधारमा कर्जा प्रवाह गरेर उक्त सम्पत्तिलाई हाइपोथेकेसन गरेको थियो । व्यवसायको खराब कर्जा बढ्दै जाँदा बैङ्कमा चालु सम्पत्तिको हाइपोथिकेसन गर्ने प्रचलन हुन्छ । नबिल बैङ्कले गत बुधबार स्थानीय प्रशासन तथा स्थानीय तहका प्रतिनिधिको उपस्थितिमा पसल तथा गोदाममा सिलबन्दी गरेयता धनावतसँग सम्पर्क हुन सकेको छैन ।
नबिल बैङ्क कोशी प्रदेशका प्रमुख दीपककुमार श्रेष्ठले बैङ्कले आफ्नो कर्जा असुल्नका लागि गर्ने कानुनसम्मत यो प्रक्रिया अपनाएको बताउनुभयो । बैङ्कले व्यवसाय र व्यवसायीको गुडविल नहेरी हाइपोथिकेसन सम्झौता गरेकोप्रति आशङ्का व्यक्त गर्दा श्रेष्ठले नियमभित्रै बसेर काम गरेको बताउनुभयो ।
यसै गरी ग्लोबल आइएमई बैङ्क कोशी प्रदेशका प्रमुख सुलभकृष्ण जोशीले मेगाटेक सोलुसन प्रालि रहेको स्थानलाई नै कार्यालय देखाएर एसियन अल्ट्रा इनर्जी प्रालिबाट लिएको कर्जा चुत्ता नगरेपछि कानुनी प्रक्रियामार्फत नियन्त्रणमा लिने काम भएको बताउनुभयो । ग्लोबल आइएमई बैङ्कले जारी गरेको नोटमा एसियन अल्ट्रा इनर्जी प्रालिको घर, पसल, गोदाम, कार्यालय र तहाँ रहेका स्टक, सामान, काठ, फर्निचर, मेसिनरी पार्टस र विभिन्न ब्रान्डका कम्प्युटर, फोटोकपी, डेस्कटप, मनिटर र अन्य इलेक्ट्रोनिक सामान जे जस्तो अवस्थामा थिए ती सबै नियन्त्रणमा लिइएको जानकारी गराइएको छ । धनावतको यही मेगाटेकभित्र अर्को फर्ममार्फत अन्य बैङ्कबाट समेत कर्जा लिएको जानकारहरू बताउँछन् ।