देवराम यादव
सप्तरी, साउन १० गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका– ६ कुशहामा शुक्रबार एक शिक्षक मृत फेला परेको प्रहरीले जनाएको छ । डाक्नेश्वरी नगरपालिका–६ कुशहाका २७ वर्षीय रामकिसुन राय मृत फेला परेका हुन् ।
बिहीबार बेलुकी ६ बजे घरबाट हराएका राय सोही ठाउँमा रहेको कोशी पम्प नहरको छेउमा शुक्रबार मृत फेला परेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
रातभरी परिवारको सम्पर्कमा नआएपछि आफन्त तथा स्थानीयवासीले खोजतलास गर्ने क्रममा रायलाई मृत अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीलाई खबर हुनसाथ इलाका प्रहरी कार्यालय पातो र इलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त प्रहरी टोली खटी अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
घटना स्थलमा प्रहरी टोली खटी कानुनी प्रक्रिया पूरा गरी मृतक रायको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।