• १० साउन २०८२, शनिबार

बाउन्न जनाको उद्धार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १० गते । सरकारले इरानको जेलमा थुनामा रहेका पाँच जना र अवैध रूपमा विदेश जाँदै गरेका ४७ जना नेपाली महिलाको सकुशल उद्धार गरेको छ । इजरायल र इरानबिच गत महिना द्वन्द्व सिर्जना भएका बेला त्यहाँस्थित नेपालीको उद्धार गर्ने क्रममा पाँच जना नेपाली अध्यागमन कानुनको उल्लङ्घन गरेको कसुरमा इरानस्थित जेलमा थुनामा रहेको खुल्न आएको थियो । 

नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले आफ्ना नागरिकको जीवन सुरक्षा र उद्धारको जिम्मेवारी वहन गर्दै जेलबाट रिहासहित उद्धार गरेर नेपाल फिर्ता ल्याउन पहल थालेको थियो । सोही क्रममा नेपाल सरकारको अनुरोध र पहललाई ध्यानमा राख्दै इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् नेपाल फिर्ता ल्याउने पहल परराष्ट्र मन्त्रालयले सुरु गरेको थियो । बिहीबार राति उहाँहरू काठमाडौँ अवतरण भएको मन्त्रालयले शुक्रबार प्रस्ट पारेको छ । 

नठगिन अनुरोध 

गैरकानुनी रूपमा भारतको बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत लैजाँदै गरिएका ४७ जना नेपाली महिलालाई भारतमा उद्धार गरी भारत सरकारका सम्बन्धित निकायसँगको सहकार्यमा भारतस्थित नेपाली राजदूतावासले बिहीबार राति नेपाल फर्काएको जनाएको छ । भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदी एयरको उडानमार्फत सोमबार हवाई अनुमतिपत्र लिई कुवेत जाने क्रममा उहाँहरूसँग भएको बाहिर जान पाउने अनुमतिपत्रमा शङ्का लागेपछि अध्यागमनले दूतावासलाई खबर गरेको थियो ।