वसन्त पराजुली
नारायणगढ, साउन ९ गते । बिहीबार मध्यरातमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रत्ननगर नगरपालिका–३ शान्ति चोकस्थित पूर्व पश्चिम राजमार्गमा बागमती प्रदेश २–०२–००१ च०५१० नम्बरको तरकारी बोकेको बोलेरोले बा.प्र.०६–००१प३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कालिका नगरपालिका–२ बस्ने ३५ वर्षीय मुकुन्द कंडेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ख३३६५ नम्बरको बसलाई बलेरोले ओभरट्याक गर्न खोज्दा विपरित दिसाबाट आएको मोटरसाइकलमा ठोक्किन पुगेको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि बलेरो बसमा ठोक्किएको थियो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कंडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै १ः१९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसको एक साइडको सिसा फुटेपनि यात्रुहरुलाई केही भएको छैन । प्रहरीका अनुसार बलेरोका चालक कास्की लेखनाथ नगरपालिका–२७ बस्ने ३० वर्षीय हुमेश लामगा र बोलेरो साहु जिल्ला कास्की माछापुछ्रे गाउँपालिका– ३ बस्ने ३४ वर्षीय ध्रुव राज पोखरेल सामान्य घाइते भएका छन् ।