• १० साउन २०८२, शनिबार

सिनामङ्गल डिपो सार्न डिपिआर तयार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ९ गते । नेपाल आयल निगमले सिनामङ्गलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको हवाई इन्धन डिपो नयाँ स्थानमा स्थानान्तरण गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन बिहीबार निगमलाई हस्तान्तरण गरियो । 

हवाई इन्धन डिपो कार्यालय सिनामङ्गलका प्रमुख तथा आयोजना प्रमुख ई. प्रदीप यादवले प्रतिवेदन अनुसार छ अर्ब ५४ करोड २९ लाख पाँच हजार ५७ रुपियाँमा नयाँ डिपो निर्माण हुने जानकारी दिनुभयो । तोकिएको समयमा डिपिआर तयार भएकाले निर्माण पनि निर्धारित समयमा सक्ने गरी कार्य अगाडि बढाइने उहाँले बताउनुभयो । हाल डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नेपाल नागरिक उड्यन प्राधिकरणले साइट क्लियरेन्सको काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप निर्माण हुने डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार एक सय किलोलिटर क्षमताका दुई वटा पानी ट्याङ्की र पूर्ण स्वचालित फायर फाइटिङ सिस्टम जडान हुने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको हवाई इन्धन डिपो सुरक्षाका दृष्टिले उच्च जोखिममा देखिएपछि २०८१ साउन २८ को मन्त्रीपरिषद्को बैठकले डिपो सार्ने निर्णय गरेको थियो । सोही अनुसार डिपो गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सार्न प्रक्रिया अगाडि बढेको हवाई इन्धन डिपो कार्यालय सिनामङ्गले जनाएको छ । 

निगमले बनाउन लागेको उक्त डिपोमा तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्याङ्की रहने छन् । साथै भविष्यमा भण्डारण क्षमता बढाउनसमेत खाली स्थान रहने छ । 

चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरी भदौमा निर्माणका लागि बोलपत्र आह्वान गरी दुई महिनाभित्र मूल्याङ्कन सकिने योजना रहेको कार्यालयले जनाएको छ ।

मूल्याङ्कन सकेर छ महिनाभित्र निर्माण सुरु गरी २०८४ मङ्सिरभित्र निर्माण सकेर डिपो सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख यादवले जानकारी दिनुभयो । नयाँ डिपो पूर्ण रूपमा सुरक्षित, प्रविधियुक्त र दीर्घकालीन समाधान हुने किसिमले निर्माण उहाँले जानकारी दिनुभयो । 

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन डा. सुरज लामिछानेले नेपाली प्राविधिक जनशक्तिले नै डिपिआर तयार गरिएको जानकारी दिनुभयो ।  

विमानस्थलको गुह्येश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा ‘अमेरिकी पेट्रोलियम इन्स्टिच्युट’ एपिआई मापदण्ड अनुसारको डिपो निर्माण हुने छ ।