• ८ मंसिर २०८१, शनिबार

डेङ्गुको प्रकोप व्यापक

blog

काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत डेङ्गु सङ्क्रमित ।

ललितपुर र काठमाडौँमा सबैभन्दा बढी सङ्क्रमित, सङ्कटकाल लगाउनेबारे अध्ययन 

काठमाडौँ, भदौ २० गते । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्।

काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ। गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ। सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेङ्गुले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले नेपालमा डेङ्गु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल सुरु भएको बताउनुभयो। उहाँले स्वास्थ्य सङ्कटकाल (महामारी) घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भए सङ्कटकाल लगाउन सकिने बताउनुभयो। 

गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ । 

डेङ्गु नियन्त्रण बाहिर गएको अवस्थामा सङ्कटकालका प्रावधान पूरा गरेको अवस्थामा महामारी घोषणा गरिने उहाँले बताउनुभयो। अस्पतालका प्रमुख, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसँग छलफल भइरहेको भन्दै प्रवक्ता डा. ठाकुरले पर्सि मङ्गलबार सरोकारवाला निकायसँग छलफल गरेर सङ्कटकाल लगाउने वा नलगाउने भन्ने विषयमा निष्कर्षमा पुग्न सकिने जानकारी गराउनुभयो। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य प्रशासक गोकर्ण दाहालले महामारी घोषणा गर्न पाँच वर्षको डेङ्गुसम्बन्धी केसलाई विश्लेषण गर्नुपर्ने बताउनुभयो। उहाँले थप्नुभयो, “पाँच वर्षको डेङ्गुसम्बन्धी केसलाई विश्लेषण गरेर न्यूनतम सीमा (थ्रेस होल्ड) निकालिन्छ र त्यसभन्दा माथि गएको अवस्थामा आउटब्रेकका आधारमा महामारी घोषणा गरिन्छ।” 

डेङ्गुको पहिलो चरण सतर्कता, दोस्रो अनियन्त्रित र तेस्रोमा महामारीको चरण हुने भन्दै दाहालले त्यसको तथ्याङ्क विश्लेषण गर्ने काम भइरहेको जानकारी गराउनुभयो। अहिलेको स्थितिलाई हेर्ने हो भने महामारी घोषणा गर्न सकिने भए पनि पाँच वर्षअघिदेखिको तथ्याङ्कका आधारमा घोषणा गर्नुपर्ने भएकाले तथ्याङ्क हेर्ने काम भइरहेको बताउनुभयो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले कतिपय जिल्लामा डेङ्गु महामारीका रूपमा बढेको जानकारी दिँदै महामारी घोषणा गर्ने वा नगर्ने विषयमा कुनै निर्णय भइनसकेको जानकारी दिनुभयो। 

तीव्र रूपमा यसैगरी डेङ्गुका बिरामी बढ्दै जाने हो भने डेङ्गु महामारी घोषणा गर्नुपर्ने हुन सक्छ । 

“सबैभन्दा बढी ललितपुरमा डेङ्गु बढेको छ, तीव्र रूपमा यसैगरी डेङ्गुका बिरामी बढ्दै जाने हो भने डेङ्गु महामारी घोषणा गर्नुपर्ने हुन सक्छ,” जनस्वास्थ्य प्रशासक दाहालले भन्नुभयो, “महामारी घोषणा गर्न तथ्याङ्कले अझै पनि सपोर्ट गरेको छैन।” जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले डेङ्गुको महामारीको अवस्था आइसकेको बताउनुभयो। उहाँले राष्ट्रिय स्वास्थ्य सङ्कटकाल लागू गर्ने समय आइसकेको भन्दै सङ्ख्या बढ्दै गए डेङ्गुबाट मृत्यु बढ्ने बताउनुभयो। 

उहाँले मुलुक सङ्घीय प्रणालीमा जानुअघि प्रत्येक जिल्लामा भेक्टर नियन्त्रण निरीक्षक र मलेरिया निरीक्षण हुने गरेकोमा अहिले उनीहरूलाई सामान्य स्वास्थ्यकर्मीमा रूपान्तरण गरिँदा समस्या बढेको बताउनुभयो। ती निरीक्षकले त्यही विषयमा अध्ययन गरेका हुन्थे भन्दै डा. मरासिनीले अहिले डाक्टरले कुन किसिमको डेङ्गु लाग्यो भनेर पत्ता लगाउन नसक्ने दाबी गर्नुभयो। भेक्टर कन्ट्रोलसम्बन्धी स्वास्थ्यकर्मी नभएका कारण डेङ्गुको महामारी फैलिएको उहाँको भनाइ छ। एडिस जातिको लामखुट्टेले सबैभन्दा मन पराउने टायर हो भन्दै उहाँले टायरलाई जथाभावी राख्न नहुने बताउनुभयो। त्यस्तै उक्त लामखुट्टे काटेका बाँसमा पनि बस्ने र फुल पार्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनुपर्ने बताउनुभयो। 

  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।