• १२ साउन २०८१, शनिबार

महँगो पर्व बन्दै तीज

blog

काठमाडौँ, भदौ १२ गते । महिलाहरूको महान् चाड तीजको रौनक बढ्दो छ। केही वर्ष कोरोनाले निराशापूर्ण बनाएको यो चाड अहिले महिलाहरू धुमधामले मनाउन थालेको पाइएको छ। विशेष गरेर नयाँ पुस्ताका महिलाले तीज आउनुपूर्व नै दर खान सुरु गरिसकेकाले यसमा थप रौनक देखिन थालेको छ भनेर अर्कोतर्फ केही दिनअगावैको तडकभडकले तीजको असली संस्कृति उनीहरूले बिर्सन थालेका हुन् कि भन्ने जस्तो पनि देखिन्छ। 

तीज हामी महिलाको महान् चाड हो र यसलाई रमाइलो गरेर मनाउनुपर्छ तर यसको उपयोग सही ढङ्गले गर्न जानेन भने तीजको के मतलब भयो र ? भन्नुहुन्छ कलाकार दीपाश्री निरौला। तीजको अवसर भन्दै अहिले होटल तथा पार्टी प्यालेसमा भोज खाने, नाचगान गर्ने र तीजे प्रतियोगिता आयोजना गर्ने चलन हाबी हुँदै जान थालेको उहाँको भनाइ छ। निरौला भन्नुहुन्छ, “पहिला–पहिला दर खान सबै परिवार जमघट भएर राति खाने गरिन्थ्यो तर अहिले त्यो चलन हराएको छ। अहिले दरलाई जति बेला पनि खान मिल्ने माध्यम बनाइएको छ।”

संस्कृतिको जर्गेना गर्ने नाममा तीजलाई महँगो पर्व बनाइँदै छ। पहिले एक दिन खाइने दर अहिले हप्ता दिनअघिदेखि नै खान थालिएको छ। तीजको वर्तको एक दिनअघि नाचिने नाच अहिले पहिलेदेखि नै नाच्न थालिएको छ तर पछिल्ला पुस्ताका महिला यसलाई भड्किलो पर्व मान्न तयार छैनन्। एक दिनमा तीनदेखि चारवटा तीज कार्यक्रममा सहभागी जनाइरहनुभएकी गायिका तथा नेपाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कि उपाध्यक्ष राधिका हमाल पुन भन्नुहुन्छ, “कोरानापछि अहिले महिलाहरूका लागि तीज उर्लेर आएको छ। 

अहिले पहिलाभन्दा तीज खासै भड्किलो नभएको पनि उहाँको भनाइ छ। अहिले भड्किलोपन धेरै कम भएको छ।” कुनै जमाना थियो, माइतीमा दर खाने र चौतारामा धीत मरुन्जेल नाच्ने, गाउने। टाढा माइती भएका या माइती नभएका महिला घरमै तीज मनाउँथे र माइत जान नपाएको पीडा गीतमार्फत पोख्थे। यो त्यो जमानाको कुरा हो, जति बेला महिलाको संसार घर, घाँसदाउरा र मेलापातमा सीमित थियो तर आज समय बदलिएको छ, महिलाको संसार फराकिलो भएको छ र तीज फेरिएको छ। 

गायिका टीका पुन तीजको कार्यक्रम गर्न जापान जान नपाएपछि आफ्नो दुखेसो सुनाउँदै भन्नुहुन्छ, “जापानमा फेरि कोरोनाले गर्दा मेरो कार्यक्रम नै रद्द भयो। अब आफ्नै देशमा मनाउने हो, तीज।” उहाँ अहिले तीजमा विकृति भित्रिएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “हामीले आफ्नो संस्कृतिलाई बिर्संदै गएका छौँ। अलिकति आफ्नो मौलिकतामा पनि ध्यान दिने हो कि ?” 

तीज भनेको महिलाले मनाउने धार्मिक र सांस्कृति पर्व हो। र यसमा महिलाले गीतको भाकामार्फत आफ्नो खुसीसँगै दुःख पनि साटासाट गर्ने चलन छ। गीतकार लोकराज अधिकारी भन्नुहुन्छ, “अहिले बिस्तारै तीज मनाउने शैलीमा परिवर्तन आएको छ। तीजमा गाइने गीतको मर्म पनि हराउन थालेको छ।” तीज केही भड्किलो हुँदै गएको पनि अधिकारीले प्रस्ट्याउनुभयो। तीजको भाका र शब्द पनि फेरिँदै गएकाले यसको मौलिकता सङ्कटमा आएको उहाँको भनाइ छ। यता सङ्गीतकार दीपक शर्मा तीजको रौनकता दुई दिनमा नै सक्नुपर्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “तीज महिलाको चाड हो र यसलाई भड्किलो तरिकाले नभएर सभ्य तरिकाले मनाउन जरुरी छ। हामीले हाम्रो संस्कृतिलाई पनि बिर्सन हुँदैन।”