गत अगस्त ५ मा वैज्ञानिकहरूले एउटा निकै अनौठो घटना ‘नोट’ गरे । त्यस दिन पृथ्वीको परिक्रमाको गति सामान्यभन्दा एक्कासि कम भएको थियो । जसका कारणले दिन केही लामो भयो ।
यद्यपि पृथ्वीको गतिमा आएको कमी र दिनको लम्बाइमा भएको वृद्धि आममानिसले हेक्का पाउने कुरै भएन । तथापि वैज्ञानिकहरूले उक्त घटनालाई महत्वपूर्ण घटना भएको बताएका छन् । सो घटनाले पृथ्वीलाई आफ्नो अक्षमा परिक्रमा गर्ने कार्यलाई प्रभावित पार्ने शक्तिहरूका बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ ।
पृथ्वी आफ्नो अक्षमा घुम्दछ र सूर्यको वरिपरि पनि परिक्रमा गर्दछ । भूमध्यरेखामा पृथ्वीको गति एक हजार ६७० किलोमिटर प्रतिघण्टा छ । त्यसै गरी सूर्यको परिक्रमा गर्दा यसको गति चाहिँ प्रतिघण्टा एक लाख सात हजार किलोमिटर रहेको छ ।
वैज्ञानिकहरूका अनुसार अगस्त ५ मा पृथ्वीले आफ्नो अक्षमा एक पटक घुम्नका लागि ८६ हजार ४००.००१४५ सेकेन्ड लगायो । यो भनेको औसतभन्दा १.४५ मिलिसेकेन्ड अधिक हो । पृथ्वीको घुम्ने गतिमा यो परिवर्तन धेरै सानो हो ।
वास्तवमा एक सौर्य दिन अर्थात् २४ घण्टामा ८६ हजार चार सय सेकेन्ड हुन्छ । यो अवधि भनेको पृथ्वीले आफ्नो अक्षमा एक पटक घुम्न लाग्ने समय हो । यसमा हावाको ढाँचा, सामुद्रिक ज्वारभाटा तथा पृथ्वीको आन्तरिक भागमा हुने गतिविधिको परिवर्तनले हुने ससाना परिवर्तन स्वाभाविक रूपमा हुन्छन् । यसका अतिरिक्त चन्द्रमाको गुरुत्वाकर्षणले पनि पृथ्वीको गतिलाई सुस्त बनाउनमा भूमिका खेल्दछ ।
वैज्ञानिकहरूका अनुसार अगस्त ५ मा पृथ्वीको घुम्ने गतिमा आएको कमी दक्षिण गोलार्धस्थित वायुमण्डलीय परिस्थितिसँग सम्बन्धित थियो । कतिपय क्षेत्रमा सामान्यभन्दा तीव्र गतिको हावाले पृथ्वीको सतहमा एक मिनेटको ब्रेक लगायो । जसबाट दिनको लम्बाइमा मिली सेकेन्डले वृद्धि भयो ।
चन्द्रमाको गुरुत्वाकर्षणबाट प्रभावित सामुद्रिक ज्वारभाटाले पनि यसमा योगदान गरे । वैज्ञानिकहरूका अनुसार जब ज्वारीय गुरुत्वाकर्षण अधिक हुन्छ तब यस्तो खालका घटना देख्न पाइन्छ । पृथ्वीको तरल अवस्थामा रहेको आन्तरिक संरचनामा हुने गतिविधिले पनि घुम्ने गतिलाई प्रभावित गर्दछ ।
वैज्ञानिकका अनुसार पृथ्वीको गतिमा एक मिली सेकेन्डभन्दा केही मात्रै परिवर्तन भयो भने त्यसले जिपिएस नेभिगेसन तथा उपग्रह सञ्चार जस्ता अत्यधिक सटिक प्रणालीलाई प्रभावित गर्न सक्छ ।
–युवामञ्च